जनता टाइम्स

२१ जेष्ठ २०७८, शुक्रबार १४:४४

कांग्रेस सांसदका छोराले गराए दुर्घटना, मजदुरको गयो ज्यान


काठमाडौं, जेठ २१

प्रदेश १ को प्रदेशसभा सांसद बिन्दिया कार्कीका छोरा रविन कार्कीले चलाएको कार दुर्घटनामा पर्दा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएकोछ । विराटनगर महानगरपालिका–४ स्थित विराटनगर विमानस्थलको नहरनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–०१–०२२ च २१३९ नम्बरको कार दुर्घटनामा परेको हो ।

दुर्घटनामा भारत कटियार घर भएका ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको हो । त्यस्तै घाइते हुनेमा मोरङको कटहरी गाउँपालिका–२ का २७ वर्षीय रामकुमार राजवंशी रहेका छन् । घाइते राजवंशीको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेर मृत्यु र घाइते हुने दुवै पुरुष विराटनगर–४ स्थित न्यू एभरेष्ट फर्निचर उद्योगमा कार्यरत मजदुर हुन् । सवारी चालक अनुमतिपत्र समेत नभएका चालक रविन फरार भएका छन् । मदिराको नसामा लट्ठ हुँदै कार चलाउँदा दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।