जनता टाइम्स

२५ जेष्ठ २०७८, मंगलवार १८:५५

मुख्यमन्त्रीलाई विश्वासको मत दिने सांसदलाई पार्टीबाट निष्कासन गर्ने एमालेको तयारी


काठमाडौं, जेठ २५

नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले पार्टीको निर्देशनको अवज्ञा गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने प्रदेशसभा सदस्यलाई कारबाही हुने बताउनुभएको छ । उहाँका अनुसार मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिन पार्टीले दिएको निर्देशनको नमान्ने प्रदेश सांसदहरूलाई कारबाही गर्न तयारी अगाडि बढाइएको छ ।

अध्यक्ष थापाले भन्नुभयो, ‘पार्टीको निर्देशन विपरीत अर्को दलको मुख्यमन्त्रीलाई विश्वासको मत दिनु अपराधपूर्ण काम हो । यो क्षम्य हुन सक्दैन । ती सबै सांसदलाई कारबाही हुन्छ । उहाँहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिनेछ ।’

उहाँले विश्वास मत दिने प्रत्यक्ष निर्वाचित र समानुपातिक सबै सांसदलाई पार्टीबाट निष्कासन गरिनेसमेत बताउनुभयो । आज मुख्यमन्त्री भट्टलाई एमालेको माधव नेपाल समूहका १७ जना प्रदेशसभा सदस्यले विश्वासको मतको पक्षमा मतदान गरेका थिए ।