जनता टाइम्स

२८ जेष्ठ २०७६, मंगलवार २१:३१

बेलायती समकक्षीसँगको बार्ताअघि प्रधानमन्त्री ओलीले बुझ्नुभयो गोर्खाहरुको समस्या


लण्डन, जेठ २८

बेलायत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफेना बेलायती समकक्षी टेरिजा मेसँग भेटवार्ता अघि आन्दोलनरत गोर्खा समुदायलाई भेटेर उनीहरुको समस्या बुझ्नु भएको छ । आन्दोलनरत गोर्खा भूतपूर्व सैनिक संघ (गेसो), संयुक्त संत्याग्रह संघर्ष समिति लगायतका बिभिन्न गोर्खाका संस्थाका नेताहरुसँग भेटेर प्रधानमन्त्री ओलीले सो समुदायको समस्याको बारेमा जानकारी लिनुभएको हो ।

मंगलबार दिउँसो लन्डनमा बेलायती प्रधानमन्त्री मेलाई भेट्नु अघि प्रधानमन्त्री ओलीले गोर्खाहरुको समस्याको बिषयमा जानकारी लिनुभएको गेसोका सभापति कृष्णकुमार राईले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीसँगको भेटमा गेसो सभापति राईले गोर्खाहरुको समस्याको बारेमा जानकारी गराउनु भएको थियो ।

सभापति राईले बेलायत सरकार, नेपाल सरकार र गोर्खाहरु सम्मिलित प्राबिधिक समितिले तयार पारेको प्रतिवेदन अनुसार नै गोर्खाहरुको समस्या सम्बोधनको निम्ति बेलायती समकक्षीसँग अजेन्डा राख्नका लागि अनुरोध गर्नुभएको थियो । ‘प्राबिधिक समितिले तयार पारेको प्रतिवेदन अनुरुप नै गोरखाहरुको समस्या सम्बोधनको निम्ती यहाँले भेटवार्ताको क्रममा गम्भिरताको साथ कुरा उठाइदिनु हुनका लागि हामी अनुरोध गर्दछौं,’ प्रधानमन्त्री ओलीसँग सभापति राईको भनाई थियो ।

त्रिपक्षीय प्राविधिक समितिले सिफारिस गरे अनुसार गोरखाहरुको माग सम्बोधन होला भनेर ठुलो आशा र उत्साहका साथ व्यग्र प्रतिक्षामा रहेको बेला बेलायत सरकारले पूर्व प्रतिबद्धता विपरित एकतर्फी प्याकेज घोषणा गरेको भन्दै सभापति राईले दुईदेशबीच वार्ताको जरुरी रहेको तथ्यसहित पहलकदमीका लागि आग्रहसमेत गर्नुभयो ।

‘वार्ता समिति बनाएर वार्ताको माध्यमबाट त्रिपक्षीय प्राबिधिक समितिको सिफारिस अनुसार समस्या समधान गर्नुको साटो एक तर्फी रुपमा प्याकेज भन्दै केही प्रतिशत पेन्सन र सुबिधा बृद्धिको घोषणा गरिनु अत्यन्तै दुःखत थियो । न्याय पाउने आशामा रहेका गोरखाहरु फेरि एक पटक दुःखी बनेका छौं । सम्माननीय प्रधानमन्त्रीज्यूले पहल गरीदिनु हुन्छ भन्ने विश्वासमा छौं’ उहाँको भनाई थियो ।

संत्याग्रहका संयोजक ज्ञानराज राईले वार्ताको माध्यमबाट समस्या समधान होस् भन्ने आफूहरुको चाहना रहेको बताउनु भएको थियो । सवैको कुरासुनेपछि गोर्खाहरुको बारेमा गम्भीरताका साथ छलफल गर्ने जानकारी प्रधानमन्त्री ओलीले गराउनु भएको थियो । प्रधानमन्त्री ओलीले गोर्खाहरुको समस्या सम्बोधनको निम्ती दुई देशबीचमा वार्ता हुने जानकारीसमेत गराउनु भएको थियो ।