जनता टाइम्स

२६ जेष्ठ २०७८, बुधबार १९:०२

कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न मन्त्री चौधरीको निर्देशन


काठमाडौं, जेठ २६

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीदले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभएको छ । आज पुल्चोक स्थित महिला बालबालिका बिभागको कार्यालयमा भएको एक कार्यक्रममा उहाँले निर्देशन दिनुभएको हो । कार्यक्रममा बिभागका निर्देशक दुर्गादेबि देबकोटा पौडेलले बिभागको गतिविधिको जानकारी गराउनुभएको थियो ।

उहाँले विभागको औचित्य, चुनौती, अबसर र विगतदेखि गर्दै आएका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेलले परिषदको बारेमा जानकारी दिनुभयो । परिषदको अध्यक्षमा पद्स्थापन गर्दै मन्त्री चौधरीले प्रदेश १, २ र लुम्बिनी प्रदेशमा बालबालिका खोज केन्द्र १०४ बिस्तार गर्ने निर्णयलाई सदर गर्नुभयो । उहाँले विभागबाट प्रदान हुँदै आएको सेवामा कुनै पनि ढिला सुस्ती नगरी कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।

उहाँले बिभाग अन्तर्गत बेरुजुको बिकराल समस्या देखिएको हुँदा यसलाइ जति सकिन्छ तत्काल समाधानका उपायका लागि पहल गर्ने र त्यसमा सबैको सहयोग रहने बिश्वास समेत ब्यक्त गर्नुभयो । मन्त्री चौधरीले आफू महिला, बालबालिकाको समस्या समाधान गर्ने र केन्द्रबाट मात्रै प्रयाप्त नहुने भन्दै प्रदेश, जिल्ला र स्थानीय तहसम्म काम गर्ने संयन्त्र बनाउनुपर्नेमा जोड दिनुभयो ।

घरेलु र यौन हिंसाबाट महिलाहरु निकै पीडित हुने गरेको र सार्वजनिक गर्न नसक्ने स्थिति अझै पनि पूर्णरुपमा नबनेको भन्दै त्यसका लागि बिभागले समाजको तल्लो वर्गका महिला र बालबालिकाको लागि परिणाम आउने गरि काम गर्नुपर्नेमा जोड दिनुभयो । बिभागका महानिर्देशक कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मन्त्रालयका सचिव यमकुमारी खतिवडा लगायत राज्यमन्त्री रेनुका गुरुङको समेत उपस्थिति रहेको थियो ।