जनता टाइम्स

२७ जेष्ठ २०७८, बिहीबार ०७:०३

यसकारण छैन केपी ओलीको विकल्प


पार्टीभित्रैबाट अन्र्तघात हुँदा, देशी विदेशी शक्तिले हस्तक्षेप गर्दा, सरकार ढलाउन खोज्दा पनि नझुकेको केपी ओलीको शिर कहिले पनि झुक्ने छैन । नेपालमा अर्को केपी ओली पाउन सक्ने सम्भावना छैन । मात्रभूमिप्रति गरेको योगदान सदै इतिहासमा लेखीने छ । तसर्थ, अबको १० वर्ष केपी ओलीको विकल्प छैन, नेपालमा केपी ओलीको विकल्प केपी ओली नै हुन । हाम्रो देशलाई समृद्ध बनाउन फेरि पनि ओली लै नै प्रधानमन्त्री बनाउनु पर्छ

रुपेश अधिकारी

संसारका ठूला ठूला देशका विज्ञ र कतिपय सञ्चार माध्यमहरुले समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई एसियाली मुलुकको प्रभावशाली प्रधानमन्त्री भन्दै आएका छन् । हुनपनि प्रधानमन्त्री ओलीले देशका लागि ठूला ठूला सपना देख्नुभएको छ । जसलाई साकार बनाउन उहाँले हरपल कोशिष पनि गरिरहुनभएको छ । मध्यम वर्गीय परिवारमा जन्मिनु भएका ओलीलाई आजको अवस्थासम्म आईपुग्न कति धेरै चुनौती र जोखिम मोल्नुपरेको छ, त्यो ईतिहासले बताइसकेको छ । सानै उमेरमा मातृत्वबाट वञ्चित हुनुभएका ओलीले १४ वर्ष त जेलमै बिताउनु भएको थियो । गोलघर जस्तो कष्टकर जेलजीवन, आन्दोलनका क्रममा खाएका पिटाई, अपमान, तिरस्कार सबै के को लागि थियो त ? सबै देश र जनताको लागि नै हो, सोही सपना साकार बनाउन उहाँ अहिले पनि दिनमा १८ घण्टा खटिएर काम गर्नुहुन्छ ।

समकालिन नेपाली राजनीतिज्ञको कामसँग दाँजेर हेर्दा केपी ओलीलाई लामो संघर्ष र बलिदानपछि प्राप्त राजनीतिक उपलब्धिले जन्माएको महान योद्धाका रुपमा लिन सकिन्छ । किनभने उहाँले प्रधानमन्त्रीको रुपमा कार्यकाल सुरु गरेपश्चात् धेरै जनमुखी काम गरिसक्नुभएको छ । लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नक्सा जारी गर्ने, गौतम बुद्ध नेपालमै जन्मिएका हुन् भनेर दह्रो अडान लिने, सगरमाथाको उचाई नाप्ने, मुलधारको राजनीति भन्दा बाहिर रहेका सिके राउत, विप्लबहरुलाई मुलधारमा प्रवेश गराउने लगायतका थुप्रै सकारात्मक कामहरुले उहाँको प्रशंसा हुनेगरेको छ । अझ २०७२ सालको भुकम्पका समयमा भारतविरुद्ध उभिएर उँचो छवि बनाउनु भएका प्रधानमन्त्री ओलीले अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक समेटिएको चुच्चे नक्सा जारी गरेर नयाँ इतिहास कायम गर्नुभएको छ ।

पछिल्लो समय नेपाली नेताहरु भोटका लागि धेरै कुरा बोल्ने तर पछि त्या पूरा नगर्ने गरेको पाइन्छ । तर केपी ओलीले आफूले बोलेका धेरै कुरा पूरा गर्नुभएको छ । तसर्थ पनि केपी ओली वालबालिकादेखि युवा–बिद्यार्थी र वृद्ध सबैको प्रिय हुनुभएको छ । पार्टीभित्रकै केही समुह उहाँको बिरुद्ध अनर्गल प्रचारमा लागेर जनविश्वास खस्काउने षडयन्त्रमा देखिएका छन । तर उनीहरु सफल भने हुन सकेका छैनन । किनभने केपी ओलीको काम गर्ने शैली, अडान र व्यक्तित्व नै अरुको भन्दा फरक छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्षस्थ नेताहरुको एउटा मोर्चा नै केपी ओलीलाई कसरी काम गर्न नदिने भनेर लागि परेको छ । तर, केपी ओली एक्लै लडेर पनि देश र जनताको सेवामा निरन्तरता दिइरहनु भएको छ । यो हामी सबैले देखेको कुरा हो ।

विंस. २०६२÷ ६३ को जनआन्दोलनपछिको चुनावमा जनतालाई डरत्रास देखाएर माओवादीले बहुमत प्राप्त गर्यो र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा विं स. २०६५ साउन २४ गते सरकार गठन गर्यो । सो समयमा आलोपालो सरकारको तमासा पनि देखियो । प्रचण्डपछि नेकपाका वरिष्ठ नेता माधव नेपाल विं स. २०६६ जेठ ११ गते प्रधानमन्त्रीमा चुनिनु भयो । तर, उहाँको कार्यकाल पनि सफल हुन सकेन । अनेक विवाद र लफडाबीच उहाँको कार्यकाल सकियो । त्यसपछि विं स. २०६७ माघ २३ गते नेकपा एमालेका तात्कालिन अध्यक्ष झलनाथ खनालको नेतृत्वमा सरकार गठन भयो । उहाँको काम कारवाही पनि अन्य प्रधानमन्त्रीहरुको भन्दा फरक हुन सकेन । उहाँ झनै बिवादित बन्नुभयो । त्यसपछि, विंस.२०६८ भदौ १२ गते माओवादी केन्द्रका नेता बाबुराम भट्टराइको नेतृत्वमा सरकार गठन भयो, त्यो सरकार झनै बिवादित र भ्रष्टाचारको अखडामा परिणत बन्यो । भट्टराई सरकारको संबिधानबिरोधी कामका कारण २०६९ फागुन ३० गते चुनावी सरकारको प्रधानमन्त्रीमा खिलराज रेग्मी नियुक्त हुनुभयो । तत्तपश्चात् दोश्रो संविधान सभाको चुनाव सम्पन्न भयो । यसबीचमा जति प्रधानमन्त्री फेरिए पनि प्रधानमन्त्री ओलीको जति उचाई प्राप्त गर्न कोही पनि सफल भएनन् । सवैले ओलीको जस्तो दृढ आठोटसहित नेपाली भूमि समेटेर नक्सा प्रकाशन गर्ने र समृद्धिको नेतृत्व लिने काम गरेनन ।

अब, जाऊँ पार्टीको महाधिवेशन तर्फ । विंसं २०७१ असार २१ गते सुरु भई ३१ गते सम्पन्न भएको एमालेको नवौँ महाधिवेशनमा ओलीले प्रतिद्वन्दी माधव नेपाललाई पराजीत गरी अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ नेकपा एमालेको नयाँ अध्यक्षमा निर्वाचित भएसँगै उहाँको काधँमा देश र पार्टीको भविष्य निर्माण गर्ने दायित्व थियो । त्यत्तिमात्रै होइन, नेपाललाई समृद्ध बनाउन स्थिर र बहुमतको सरकारको पनि आवश्यकता थियो । सरकार र पार्टीको जिम्मेवारी बहन गर्नुभएका अध्यक्ष ओलीको कामपछि सरकार निकै लोकप्रिय भनेको थियो । सुखी नेपाली र समृद्ध नेपालीको सपनालाई साकार बनाउन उहाँ निरन्तर लागि रहुनभएको थियो । तर, त्यो समयमा नेपालमा रहेको भारतीय दूतावास भने ओली सरकार कसरी हटाउने भन्ने खेलमा लाग्यो । हामीले अनुमान गरौँ न, ओली सरकारको पालामा विनासकारी भुकम्प, नाकाबन्दी, बाह्यशक्तिको हस्तक्षेप, पार्टीभित्रकै असहयोग मात्रै नभई घेरावन्दी, विपक्षीको घेराबन्दी कति धेरै चुनौतीहरु थिए, तर पनि प्रधानमन्त्री ओलीले ती सबै चुनौती सहजै पार गर्नुभयो र नेपाललाई समृद्ध बनाउने काममा लागि रहनुभयो । नाका बन्दी सहजै पार भयो, भुकम्पको पीडाबाट जनतालाई सामान्य अवस्थामा फर्काउने काम भयो, यस्ता चुनौतीहरु पार्टीभित्रको असयोगकै बावजुद पनि पार हुनु सानोतिनो कुरा होइन । पार्टीको निर्वाचित अध्यक्षको निर्देशन, पाटीको बिधान, नीति, मान्नु पर्ने सबै नेताको अनुशासन हो । पूर्वअध्यक्ष भएका बरिष्ठ नेताले पनि निर्वाचित अध्यक्षको निर्देशन मान्नु बिधि पद्धती हो । पछिल्लो समय आफ्नै कारण कार्यकर्ताबाट देशद्रोहीको उपमा पाउनु भएका एमाले नेता माधवले पार्टीद्रोही जस्ता कामहरु गर्न छाडनु भएन ।

त्यत्तिमात्रै होइन, केही सञ्चार माध्यमहरु समेत ओली सरकारलाई ढलाउन अनेक अपवाह र झुट समाचार फैलाएर बसे । पार्टीकै वरिष्ठ नेता माधव नेपाल, प्रचण्ड, देउवा र भट्टराईहरुलाई ओली सरकारको बढ्दो लोकप्रियता देखेर जलन भएको थियो । उनीहरु कसरी सरकार ढलाउने भन्ने खेलमा हात धोएरै लागेका थिए । उनीहरुको चाहाना बमोजिम नै अन्ततः ओली सरकार ढल्यो । अनि विस २०७३ साउन २० गते प्रचण्डको नेतृत्वमा पुनः सरकार गठन भयो । उहाँको सरकार खासै लोकप्रिय बन्न सकेन । त्यसपछि २०७४ जेठ २४ गते शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । तर, पहिला पनि प्रधानमन्त्री बनेर टेस्टेड भईसक्नुभएका देउवाले आफ्नो कार्यकालमा राम्रो भन्दा नराम्रो काम मात्रै गर्नुभयो । परिणाम आफ्नै नेतृत्वमा भएको चुनावमा जनताले देखाइ दिए । निर्वाचनमा भावी प्रधानमन्त्री केपी ओली भन्ने एमाले र माओवादी गठबन्धनको घोषणाकै कारण झण्डै दुई तिहाई स्थानमा बिजय प्राप्त भयो । परिणाम आएको तीन महिनासम्म देउवाले सत्तामा हालीमुहाली गरेरै बसे अनेक षडयन्त्र गरी । ती सवै षडयन्त्र चिर्दै २०७४ फागुन ३ गते ओली पुनः प्रधानमन्त्री बन्नुभयो । सरकारको नेतृत्व लिएको ती नमहिनापछि माओवादीसँग पार्टी एकता गर्नुभयो । सरकार सञ्चालनको सुरुवाती चरणमा पार्टीबाट पनि सहयोग भएको थियो तर विस्तारै उहाँलाई पार्टीकै नेताहरुले असयोग गर्न थाले । सरकारलाई काम गर्नै नदिने योजनासहित घेरावन्दी सुरु गरियो । सञ्चारमाध्यम पनि घेरावन्दीमै लागे ।

अझ नेकपाकै नेता भीम रावल त केपी ओलीले मन्त्री पद नदिएको झोकमा पार्टीका सबैलाई उचाल्न लागि पर्नुभएको थियो । त्यसपछि उहाँले पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई ओलीविरुद्ध भड्काउन खोज्नुभयो, त्यसमा सफल भएपछि फेरि माधव नेपाल र प्रचण्डलाई उचालेर उहाँले ओलीलाई पदबाटै हटाउने योजना बनाउनु थाल्नुभयो । तर पार्टीभित्रकै अन्तरघातलाई पनि चुनौती सम्झेर केपी ओली अलिकति पनि डग्मगाउनु भएन । पार्टीभित्रै संघर्ष गरिरहनुभयो र सधै देश, जनता र पार्टीका लागि उहाँ लडि नै रहुनु भयो । सवै दल र ठूला भनिएका मिडिया एकजुट बनेर आक्रमण गर्दा पनि डटेर सामना गरी परास्त गर्नुभयो ।

पार्टीभित्रैबाट अन्र्तघात हुँदा, देशी विदेशी शक्तिले हस्तक्षेप गर्दा, सरकार ढलाउन खोज्दा पनि नझुकेको केपी ओलीको शिर कहिले पनि झुक्ने छैन । नेपालमा अर्को केपी ओली पाउन सक्ने सम्भावना छैन । मात्रभूमिप्रति गरेको योगदान सदै इतिहासमा लेखीने छ । तसर्थ, अबको १० वर्ष केपी ओलीको विकल्प छैन, नेपालमा केपी ओलीको विकल्प केपी ओली नै हुन । हाम्रो देशलाई समृद्ध बनाउन फेरि पनि ओली लै नै प्रधानमन्त्री बनाउनु पर्छ ।

(कोहलपुर नगरपालिका –२, बाँके)