जनता टाइम्स

२९ जेष्ठ २०७८, शनिबार १०:३५

प्रधानमन्त्री ओलीको हत्या गर्ने अभिब्यक्तिबारे बोल्यो एमाले, दियो कठोर कदम चाल्ने संकेत


काठमाडौं, जेठ २९ । नेकपा (एमाले) ले नेपाली कांग्रेसका वाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यलाई फौजदारी अभियोगमा कारबाही गर्न माग गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै वैद्यलाई कारबाही गर्न माग गर्नुभएको हो । ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न तयार रहेको भन्ने अभिव्यक्तिलाई एमालेले अत्यन्त गम्भीर रुपमा लिएको उल्लेख गर्नुभएको छ ।

‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ । उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

वैद्यले ओलीका लागि एक जना नाथुराम गोट्सेको आवश्यकता परेको र आफू त्यो बन्ने बताउनु भएको थियो । नाथुराम गोट्सेले भारतमा महात्मा गान्धीको हत्या गरेका थिए ।