जनता टाइम्स

२९ जेष्ठ २०७८, शनिबार १४:३६

यसरी बाहिरियो देउवा–प्रचण्डको आपराधिक योजना : बैठकमै भएको थियो ‘नाथुराम गोड्से’को खोजी !


काठमाडौं, जेठ २९ । नेपाली कांग्रेसका नेता तथा बागमति प्रदेशसभा सदस्य नरोत्तम बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने अभिब्यक्ति आवेगमा आएर दिएको भन्दै माफी माग्नुभयो । भारतीय नेता माहात्मा गान्धीको हत्या गर्ने नाथुराम गोड्सेको नाम लिएर आफू पनि प्रधानमन्त्री ओलीलाई मार्न नाथुराम बन्न तयार रहेको आपत्तिजनक अभिब्यक्ति सांसद बैद्यले सच्याएर माफी मागे पनि पछिल्लो समय नेपालको राजनीतिमा कस्तो षडयन्त्र चलिरहेको रहेछ भन्ने तथ्यलाई भने उजागर गरिदिएको छ ।

पछिल्लो समय नेपाली राजनीतिमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हाइट बढेको अन्य दलका नेता र पार्टीकै कतिपय बरिष्ठ नेताहरुलाई मन परेको छैन । दोस्रो पटक मृगौला प्रत्यारोपन सफल भएपछि पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल खुलेरै ओलीबिरुद्ध लाग्नुभएको छ । ‘२२ महिनाभित्र ओली मर्छन र नेकपामा हालीमुहाली चलाउँला’ भनेर पार्टी एकतामा आउनु भएका प्रचण्ड एमालेकै बरिष्ठ नेता माधवकुमार नेपालसँग मिलेर ओलीबिरुद्ध अभियान छेडिरहनु भएको छ ।

जनयुद्धका क्रममा १७ हजार भन्दा बढी नागरिकको ज्यान लिने घटनाका खलनायक प्रचण्डले युद्धकालमा आफूबिरुद्ध लागे वा आलोचना गरे पार्टीकै नेतालाई समेत भौतिक रुपमा सफाया गरिदिएको थुप्रै तथ्यहरु रहेको छ । यानप्रसाद गौतम उर्फ आलोकको भौतिक सफाया कसरी गरिएको थियो भन्ने जनयुद्धमा लागेका माओवादी नेता कार्यकर्तालाई मात्रै होइन, बाहिरि दुनियाँलाई पनि जानकार भइसकेको छ । आफ्नो योजना पूरा गर्न जस्को पनि भौतिक सफाया गर्ने प्रचण्डपथका नायक प्रचण्ड अहिले एमाले नेता माधव नेपालसहित कांग्रेस सभापति शेरबहादुर देउवासँगको गठबन्धनमा हुनुहुन्छ । हरेक राजनीतिक घटनामा प्रचण्ड र माधव कांग्रेस सभापति देउवाको निवासमा पुगेर योजना बनाउने गरिरहनु भएको छ । पछिल्लो पटक गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिश्वासको मत नपाएलगत्तै प्रचण्डसहित उपेन्द्र यादव र माधव नेपाल देउवा निवास पुग्नुभएको छ ।

देउवा निवासमा ओलीबिरुद्ध योजना बनाइरहँदा देउवाले नै टिकट दिएर जितेका सांसद नरोत्तम बैद्यले प्रधानमन्त्री ओलीको हत्या गर्ने सार्वजनिक घोषणा, त्यो पनि संसदको रोष्टममा उभिएर दिनुभएको छ । बाहिर अभिब्यक्ति दिँदा कानूनी दायरामा आउने भएकाले बैद्यले संसदमै यस्तो धृष्टता गर्नुभएको माफी माग्ने क्रममा उहाँको आजकै अभिब्यक्तिले पनि पुष्टि गर्दछ । संसदमा बोलेको कुरालाई लिएर कुनै अदालतमा मुद्धा चल्दैन भन्ने तथ्यबारे जानकार रहेकै कारण बैद्यले प्रधानमन्त्रीको हत्या गर्ने कांग्रेस नेतृत्वको बिपक्षी गठबन्धनको योजनालाई संसदमार्फत फुत्काएका हुन ।

‘देउवा निवासमै बनेको थियो प्रधानमन्त्री ओलीबिरुद्ध यति खतरनाक योजना भन्ने तथ्य बैद्यको कुराले प्रष्ट पारिसकेको छ,’ कांग्रेसकै एक नेताले जनताटाइम्ससँग भने । उनका अनुसार सानो कुरामा पनि आफै धारणा दिन तम्सने कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीकै हत्या गर्ने घोषणा जस्तो अति गम्भीर बिषयमा मौन रहेर प्रवक्ता बिश्वप्रकाश शर्मालाई अघि सारेबाटै उहाँकै निवासमा प्रधानमन्त्रीबिरुद्ध योजना बनेको संकेत गर्छ । यस्तै देउवा निवासको बैठकमा सहभागी हुने रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, बिमलेन्द्र निधि, पुर्णबहादुर खडका जस्ता नेताहरुले यस बिषयमा केही नबोल्नुले पनि कांग्रेस संस्थागत रुपमै ओली रहेसम्म चुनाव जित्न नसकिने भन्ने निश्कर्षमा पुगेर प्रचण्डसँग मिलेर ओलीको हत्या योजना बनाइरहेको आशंकालाई बलियो बनाउने काम गर्छ ।

प्रधानमन्त्री ओलीले गत फागुनमै पोखरामा आयोजित कार्यक्रममा आफूमाथि भौतिक आक्रमण हुनसक्ने सूचना पाएको खुलासा गर्नुभएको थियो । उहाँले अभिब्यक्ति दिएको तीन महिनापछि कांग्रेस नेताले दिएको अभिब्यक्तिले उहाँबिरुद्ध गम्भीर षडयन्त्र बनिरहेको तथ्य उजागर भएको छ । एमाले नेता तथा पूर्वमन्त्री आनन्द पोखरेलले प्रधानमन्त्री ओलीको हत्या योजना बिपक्षी गठबन्धनले बनाएको सूचना आफूहरुकहाँ पहिला नै आइसकेको तथ्य सार्वजनिक गर्नुभएको छ ।

‘ केही समययत्ता प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध गठबन्धनमा लागेका केही दलका नेता तथा कार्यकर्ताहरुले राजनीतिक र बैचारिक रुपमा मात्र होइन, भौतिक रुपमा उहाँलाई सफाया गर्न सक्ने सूचना प्राप्त भैरहेको थियो । हामी त्यसलाई सुक्षम रुपले अध्यान गरिरहेका थियौं,’ बिपक्षी गठबन्धनको षडयन्त्र जानकारीमा रहेको जनाउँदै एमाले बागमति अध्यक्ष तथा पूर्वमन्त्री पोखरेलले जनताटाइम्ससँग भन्नुभयो । पोखरेलले प्रदेशसभामा नरोत्तम बैद्यले २०७८/२/२८ गते दिएको अभिब्यक्तिले सो सूचना सही रहेको देखाएको बताउनु भयो । माहात्मा गान्धीलाई नाथुराम गोड्सेले मारे झै केपी शर्मा ओलीलाई मार्नु पर्छ र मार्छु भनेर बैद्यले बिपक्षी गठबन्धनको योजना बाहिर ल्याएको उहाँको ठहर छ ।

पूर्वमन्त्री तथा एमालेका युवा नेताद्वय महेश बस्नेत र गोकुल बाँस्कोटा पनि बिपक्षीको योजना रहेको भन्दै जवाफ मागिरहनु भएको छ । दुवै नेताले ओलीको हत्या योजना बनिरहेको संकेत गर्दै स्पष्ट जवाफ माग्नुभएको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार तथा एमाले स्थायी कमिटी सदस्य बिष्णु रिमालले थप योजना प्रष्ट पार्न भन्नुभएको छ । यी सवै घटनाक्रमबाट बिपक्षी गठबन्धन ओलीलाई भौतिक रुपमै सकाउने निश्कर्षमा पुगेको र सोहीअनुसार षडयन्त्र बुनिरहेको तथ्य उजागर गर्छ । बिपक्षी गठबन्धनमा रहेका पाँचै जना नेताले प्रधानमन्त्रीको हत्या गर्छु भन्ने घोषणा गर्दासमेत मौन समर्थन गरेर षडयन्त्र बनिसकेको स्वीकारोक्ति गरेको देखिन्छ ।