काठमाडौं, जेठ ३० । संघीय राजधानी काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय लिइएको हो ।
एक साता लम्बिएसँगै साबिकको निषेधाज्ञाभन्दा केही खुकुलो बनाइएको छ । अब खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने छ । यस्तै विकास निर्माणका काममा आवश्यक पर्ने पसललाई बेलुका चार बजेदेखि खुल्न दिने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
‘पहिले खाद्यान्न, किराना, तरकारी पसल, फलफूल पसललाई बिहान ९ बजेसम्म मात्र खोल्न दिइने निर्णय भएको थियो, अब ती पसल ११ बजेसम्म खोल्न दिने निर्णय भएको छ,’ भट्टराईले भन्नुभयो । उहाँले पुस्तक पसल पनि यसैमा थप गरिएको जानकारी दिनुभयो । यस्तै बैठकले होटलमा टेक अवे सेवालाई निरन्तरता दिने निर्णय गरेको छ भने अनलाइन डेलिभरीका लागि होटलहरूलाई बिहान सात बजेदेखि काम गर्न दिइने छ । यस्तै विकास निर्माणका काम रातको समयमा गर्ने र वर्कसपहरू पनि रातको समयमा खुल्न दिने निर्णय लिइएको छ ।
थपिएको निषेधाज्ञाको अवधीमा अत्यावश्यक सेवाका लागि यातायातका साधन आफ्नो कार्यालयद्वारा जारी परिचय पत्र वा प्रमुख जिल्ला अधिकारीले जारी गरेको पासका आधारमा सञ्चालन गर्न दिइने छ । एम्बुलेन्स, शववाहन लगायत स्वास्थ्य सेवामा खटिने साधनले भने परिचय पत्र देखाउनु पर्दैन । बैठकले बैंक तथा वित्तीय संस्थाका लागि पनि केही खुकुलो बनाइएको छ ।
बैठकले उपत्यकामा कोरोना संक्रमणको दर उल्लेखनीय नघटेसम्म निषेधाज्ञालाई कायम राख्ने सरोकारवाला निकायको सिफारिस बमोजिम निषेधाज्ञालाई निरन्तरता दिइएको हो । उपत्यकामा संक्रमणदर १० प्रतिशतमा झरेपछि मात्रै निषेधाज्ञा हटाएर क्रमशः ‘लुजडाउन’मा जानुपर्ने सुझाव सरोकारवाला निकायले दिएको थियो ।













प्रतिक्रिया दिनुहोस्