काठमाडौं, असार १
मैदानमा खेलकै क्रममा हृदयघात भएर ढलेका डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनको स्वास्थ्यमा सुधार आएको छ। सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्विर पोस्ट गर्दै एरिक्सनले आफू ठीक रहेको बताउनुभएको हो । युरोकप २०२० अन्तर्गत शनिबार राति डेनमार्कको कोपनहेगनमा फिनल्यान्डविरुद्धको खेलको ४३औं मिनेटमा बल उहाँको स्थानसम्म नआउँदै एरिक्सन अचेत भएर मैदानमा ढल्नुभएको थियो ।
‘विश्वभरबाट तपाईंहरुको पठाउनुभएको न्यानो र अद्भूत सन्देशका लागि धेरै–धेरै धन्यवाद,’ इटालियन क्लब इन्टर मिलानका मिडफिल्डर एरिक्सनले लेख्नुभएको छ,‘यसले म र मेरो परिवारका लागि ठूलो अर्थ राख्नेछ। म अहिले ठीक छु। मैले राम्रो महसुस गरिरहेको छु ।’ डेनमार्क टिमका डाक्टर मोर्टेन बोएसेनले ह्रदयघातको कारण एरिक्सन अचेत भएर ढलेको पुष्टि गर्नुभएको छ ।
‘यो हृदयघात थियो। उनी गइसकेका थिए। हामीले (कार्डियो पल्मोनरी रिससिटेसन) (सीपीआर) गरेका थियौं, उहाँले भन्नुभयो,‘हामीले उनलाई एक डिफिब्रिलेसनपछि फिर्ता ल्यायौं ।’ एरिक्सनलाई झण्डै १५ मिनेट मैदानमै उपचार गरिएको थियो। स्वास्थ्य टोलीले सीपीआर पनि दिएका थिए। तर, उनी नउठेपछि स्ट्रेचरमा मैदान बाहिर लागिएको थियो। घटनापछि आयोजक यूईएफएले मेडिकल इमरजेन्सीको कारण देखाउँदै खेल झण्डै डेढ घण्टा स्थगित गरेको थियो। तर, दुवै टिमको छलफलपछि खेल सुरु भएको थियो।
खेल सुरु हुँदा दुवै टोली गोलरहित बराबरीको अवस्थामा थिए। यद्यपि, युरोकपमा डेब्यु खेल खेलिरहेको फिनल्यान्डले डेनमार्कलाई १–० ले पराजित गरेको थियो। अस्पतालमा एरिक्सनको निगरानी गरिरहेका मुटु रोग विशेषज्ञ सञ्जय शर्माले एरिक्सन अब कहिल्यै फुटबल खेल्न सक्षम नहुने जनाउनुभएको छ । फुटबल एशोसिएसन (एफए) का कार्डियोलोजी विभागका प्रमुख शर्माले एरिसक्नले अब फुटबल खेल्न सक्ने सम्भावना कम रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘जे भयो धेरै गलत भयो। उनी लगभग आज मरिसकेका थिए। तर, चाँडै अस्पताल ल्याएर ज्यान जोगियो। मलाई लाग्दैन कि अब उनी पुनः मैदान उत्रिन सक्छन् ।’ सम्भवतः अब एरिक्सनको फुटबल करिअर समाप्त भएको उहाँको बुझाइ छ। शर्माले थप्नुभयो,‘उनी आफ्नो फुटबल करिअर समाप्त गर्ने प्रक्रिया नजिक छन्। अब उनले पुनः व्यवसायिक फुटबल खेल्छन् भन्ने विषयमा म केही भन्न सक्दिन ।’













प्रतिक्रिया दिनुहोस्