पोखरा, असार २
मनसुसनको सुरुमै आएको बाढी पहिरोले मनाङका सयौं घर डुबानमा परेका छन् । बस्ती नै डुबानमा पर्दा मनाङका धेरै गाउँ सम्पर्कविच्छेद हुन पुगेका छन् । मनाङ जिल्लालाई पनि ठूलो क्षति पुर्याएको छ । मनाङ सदरमुकाम चामेबजार वरिपरिका २ वटा खोलाको बहाव बढ्दा ६ भन्दा बढी घर हिजो नै बगाइसकेको छ भने उक्त बजारका बासिन्दाहरु विस्थापित भएको छ ।
जिल्ला प्रशासन कार्यालय मनाङ प्रमुख विष्णु लामिछानेका अनुसार मनाङका विभिन्न गाउँपालिका गरेर ६० घरभन्दा बढी डुबानमा र क्षतिग्रस्त हुन पुगेको छ । उहाँले भन्नुभयो, ‘मनाङभरि कति घर क्षतिग्रस्त भएका छन्, पुर्ण तथ्यांक आउनै बाँकी छ । तर, अहिलेसम्मको जानकारीअनुसार धारापानीको इलाका प्रहरी कार्यालय र गाउँपालिकाको कार्यालय नै क्षति पुगेको छ।’
सीडीओ लामिछानेले ताल गाउँमा ३० घर, चामेमा ४८, धारापानीमा २ सरकारी कार्यालयसहित १५ घर डुबानमा परेको जानकारी दिनुभयो । लगातारको बर्षातका बस्ती डुबानमा पर्दा विद्युत आपूर्तिसमेत बन्द भएको छ भने धेरै ठाउँ सम्पर्कविहीन बन्न पुगेको छ । अहिलेसम्म मानवीय क्षति नभए पनि मनाङमा ठूलो भौतिक क्षति पुगेको छ ।
निरन्तर भारी वर्षा भइरहेकै कारण काठमाडौंबाट उद्दारका लागि आउने भनिएको हेलिकप्टर पनि आउन नसकेको उहाँले जानकारी दिनुभयो । यस्तै मनाङकै मर्स्याङ्दीमा पहिरो खसेर नदी थुनिँदा चामे र ताल बजार डुबानमा परेको थियो तर, अहिले थनिएको नदी खुलिसकेको छ ।













प्रतिक्रिया दिनुहोस्