जनता टाइम्स

२ असार २०७८, बुधबार १४:१९

ज्येष्ठ नागरिकलाई न्यायोचित ढंगबाट सेवासुविधा उपलब्ध गराउन मन्त्री चौधरीको आग्रह


काठमाडौं, असार २

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले ज्येष्ठ नागरिकलाई न्यायोचित ढंगबाट सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताउनुभएको छ । हिजो १६ औं ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको विश्व चेतना दिवसको अवसरमा मन्त्री चौधरीले शुभकामना व्यक्त गर्दै यस्तो आग्रह गर्नु भएको हो ।

‘ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राज्यले उचित ठाँउमा सदुपयोग गर्दै उहाँहरुको जीवनलाई सहज बनाउने राज्यको प्रमुख दायित्व रहेको मन्त्री चौधरीले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारको सीमित स्रोत र साधनलाई अधिकतम उपयोग गरी राज्यको हरेक तहमा ज्येष्ठ नागरिकलाई सहभागी गरेर उहाँलाई सुखी सम्मानीत एवं सुरक्षित रहने बातावरणतर्फ विभिन्न नीति, नियमको तर्जुमा गरी प्रभावकारी रूपमा कार्यान्वयन गराउन मन्त्रालय क्रियाशील छ ।’

समय सापेक्ष ढंगले उपलब्ध सेवा, सुविधाहरूलाई वृद्धि गरी सहजरुपमा प्रदान गर्नेतर्फ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सदैव तत्पर रहेको उहाँले बताउनुभयो । त्यस्तै कार्यक्रममा उहाँले ज्येष्ठ नागरिकहरुलाई राजनीतिक, सामाजिक, आर्थिकलगायतका सुविधामा विशेष ध्यानु दिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री चौधरीले ज्येष्ठ नागरिकहरुले कोरोना विरुद्धको पहिलो खोप लगाएता पनि दोश्रो खोप समयमा लगाउन नसकिएको प्रति चिन्ता गर्दै दोश्रो खोप लगाउन बाँकी विशेष पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले हाल कोभिड–१९ को दोस्रो महामारीबाट विश्व नै आक्रान्त भएको अवस्थामा, यस रोगबाट बच्न स्वास्थ्य सुरक्षाका उपायहरू अबलम्बन गरी स्वस्थ रहन सबै ज्येष्ठ नागरिक समक्ष अनुरोध समेत गर्नुभएको छ ।