जनता टाइम्स

२ असार २०७८, बुधबार १४:३६

अदालतमा अर्काे सेटिङ, एमिकस क्यूरीमा प्रचण्डका सल्लाहकार


काठमाडौं, असार २ । सर्वोच्च अदालतलाई ‘तटस्थ राय’ दिन झिकाइएका ‘अदालतको साथी’ अर्थात् ‘एमिकस क्यूरी’ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डका कानूनी सल्लाहकार छनोट गरिएको छ । नेपाल बार एशोसियसनले प्रचण्डका कानुनी सल्लाहकार बन्नुभएका वरिष्ठ अधिवक्ता राघवलाल वैद्यलाई एमिकस क्यूरीमा पठाउने निर्णय गरेको हो ।

रिट निवेदक समेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा बैद्य महान्यायाधिवक्ता हुनुभएको थियो । रिट निवेदकको कानूनी सल्लाहकारका रूपमा काम गरिसकेका व्यक्तिले एमिकस क्यूरीका रूपमा ‘तटस्थ’ भूमिका निर्वाह गर्न नसक्ने भन्दै अधिकांश कानून व्यवसायीहरूले बारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

न्यायसेवामा रहनुभएका वैद्यलाई सुवासचन्द्र नेम्वाङ कानूनमन्त्री रहेको बेला तत्कालीन पुनरावेदन अदालतको न्यायाधीश बनाइएको थियो । पहिलो संविधानसभाको निर्वाचनलगत्तै प्रचण्ड प्रधनमन्त्री बनेपछि पुनरावेदनको न्यायाधीशबाट राजीनामा दिएर वैद्य महान्यायाधिवक्ता बन्नुभएको थियो । बैद्य महान्यायाधिवक्ताबाट पदमुक्त भएपछि न्यायपरिषदको सिफारिसमा प्रधानन्यायाधिवबाट राष्ट्रिय न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको थियो ।

बार एशोसियसनले एमिकस क्यूरीमा वैद्यसहित वरिष्ठ अधिवक्ता उषा मल्ल ठकुरीलाई पनि पठाउने निर्णय गरेको छ । सर्वोच्च अदालत बार एशोसियसनले भने वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्यूरीमा पठाउने निर्णय गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र धारा ७६ को ५ अनुसारको सरकार गठन लगायतका विषयमा जारी मुद्दामा सर्वोच्च र नेपाल बारबाट २/२ जना एमिकस क्यूरी झिकाउने आदेश गरेको थियो । तर रिट निवेदककै कानुनी सल्लाहकारलाई पठाइएपछि तटस्थ राय दिने कुरा असंभव जस्तै देखिएको छ ।