सिन्धुपाल्चोक, असार २
अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बुमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको क्याम्प बगाएपछि अलपत्र परेका ४७ जना कामदारहरु उद्धार गरिएको छ भने २३ जना अहिलेसम्म पनि सम्पर्कविहीन रहेका छन् । हेलम्बु गाउँपालिका–१ मा रहेको आयोजनाको मुहान नजिकै क्याम्पमा बस्ने ७० जना कामदार तथा आयोजनाका कर्मचारीहरु बाढीमा फसेका थिए ।
आयोजनामा फसेका ४७ जना कामदारलाई उद्धार गरी धुलिखेल अस्पतालमा राखिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘३/४ खेप गरेर हेलिकप्टरले कामदारहरुलाई उद्धार गरी धुलिखेल अस्पतालमा लगिएको छ । उहाँहरु घाइते थिए/थिएनन् भन्ने खुल्न सकेको छैन । बाँकी कति छन् भन्ने अझै जानकारी आइसकेको छैन ।’
क्याम्पमा नेपाली, भारतीय र चिनियाँ गरी कम्तिमा ७० जना रहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । ‘उद्धार गर्नुपर्ने अझै धेरै छन् । तर उनीहरुको अवस्था अज्ञात रहेकोले समस्या भइरहेको छ । खोजी गर्नका लागि नेपाली सेना पुग्न सकेको छैन,’ उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्