सिन्धुपाल्चोक, असार ४ । मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजारको अस्तित्व नै मेटाएको छ । मङ्गलबार दिउँसो हेलम्बु गाउँपालिका–१ को रितेकतेकमा पहिरोले खोला थुनिएर एक्कासि खुल्दा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति भएको हो । रितेकतेकमा मेलम्ची खोला दुई पहाडबीचको खोँच भएर बग्ने र खोला थुनिएर फुटेकोजस्तो देखिएको छ । बाढीका कारण हेलम्बु–१ को तिम्बु, नागोटे, हल्दे र मेलम्ची १० र ११ जोड्ने चारवटा पक्की पुल, मेलम्ची–हेलम्बु क्षेत्रका पाँचवटा झोलुङ्गे पुल र सातवटा ट्राउट माछा फार्म बगेका छन् ।
मङ्गलबार रातिको बाढीले मेलम्ची बजारलाई बगर बनाउनुका साथै हेलम्बु क्षेत्रमा ठूलो क्षति पुगेको छ । मेलम्चीदेखि तिम्बुसम्मको सडक नदीले कटान गरेको छ । नदीले कतिपय स्थानमा दायाँबायाँ पाँच सय मिटरमाथिसम्म कटान गरेको हेलम्बु–३ का सोम ज्योतिले बताउनुभयो । “सडक बगाएको छ, बजारमा खोला बगिरहेको छ । तिम्बुदेखि चनौटेसम्मका दुई सयभन्दा बढी घर बगेका छन्,” ज्योतीले भन्नुभयो । हेलम्बु क्षेत्रका तीन सयभन्दा बढी स्थानीयवासी सुरक्षित स्थान खोज्दै माथिल्लो क्षेत्रतर्फ गएका छन् । “तीन दिनदेखि कुखुराको खोर, पाहुना घर, बस्तुगोठ जे खाली छ, त्यहीँ बसिरहेका छौँ,” हेलम्बु–३ का गणेशकिरण ज्योतीले पीडा पोख्नुभयो, “माथि बसेर आफ्नो घर बगाएको हेर्ने पालो कुरेर बसिरहेका छौँ ।”
यसैगरी पाँचपोखरी गाउँपालिका–३, लार्केखोलामा आएको बाढीले नदी किनारका सबै संरचनामा क्षति पुर्याएको पाँचपोखरी–३ का अध्यक्ष निमाछिरिङ तामाङले जानकारी दिनुभयो । “हिँउ पहिरोले क्षति पु¥याएको हुनुपर्छ,” तामाङले भन्नुभयो, “करिब ५० घर विस्थापित भएका छन् ।”
बाढीबाट विस्थापित हेलम्बु–मेलम्ची क्षेत्रका पीडित परिवार सुरक्षित स्थान खोज्दै माथिल्लो क्षेत्रतर्फ गइरहेका छन् । यस्तै मेलम्चीका अधिकांश पीडितले इन्द्रेश्वरी माध्यमिक विद्यालय र नेपाली सेनाको ब्यारेकमा आश्रय लिइरहेका छन् । बाढीले इलाका प्रहरी कार्यालय हेलम्बु, प्रहरी चौकी तालामाराङ, सशस्त्र प्रहरी बल अस्थायी चेक पोस्ट हेलम्बु र सुरक्षा पोस्ट बगाएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्