जनता टाइम्स

४ असार २०७८, शुक्रबार १३:०२

भीम आचार्यको ठोकुवा : एमाले फुटदैन, एक साताभित्रै ठूलो प्रगति हुन्छ


काठमाडौं, असार ४ । एमाले नेता भीम आचार्यले पार्टी बिभाजन नहुने ठोकुवा गर्नुभएको छ । पछिल्लो समय पार्टी एकताको पक्षमा दृढतापुर्वक उभिनुभएका नेता आचार्यले आफूहरुको अभियान परिणामतर्फ उन्मुख भएको जानकारी दिँदै पार्टी बिभाजनमा जान नदिने ठोकुवा गर्नुभयो ।

‘लेखेर राख्नोस, एमाले फुटदैन, एकसाताभित्रै पार्टीमा ठूलो प्रगति हुन्छ,’ सगरमाथा टेििलभिजनसँगको अन्तर्वार्तामा एमाले नवौं महाधिवेशनबाट निर्वाचित सचिवसमेत रहनुभएका नेता आचार्यले भन्नुभयो । उहाँले बरिष्ठ नेता झलनाथ खनालको बक्तब्य पार्टी एकताको पक्षमा दृढतापुर्वक आएको बताउनु भयो । नेता खनालको नाममा आएको बक्तब्य अरु कसैले ड्राफ्ट गर्यो वा फर्जी कुरा आयो भनेर खनालकै अपमान गर्ने काम भएको बताउनु भयो ।

‘बक्तब्य मलाई राम्रो लाग्यो, ९५ प्रतिशत मानिसले उहाँको बक्तब्यलाई राम्रो मानेको देखियो, कम्युनिष्ट पार्टीका नेतादेखि कार्यकर्तासम्म बक्तब्यको पक्षमा उभिए,’ आचार्यले भन्नुभयो, ‘फर्जी कुरा आयो, उहाँले लेखेकै होइन भन्नु त झलनाथकै अपमान हो ।’ एमाले फुटाएर जान चाहने पक्ष दुवैतिर रहेको भन्दै आचार्यले एमालेबाट पलायन भएर भाग्ने कुरा कसैलाई स्वीकार्य नहुने बताउनु भयो ।

उहाँले पार्टीभित्रको समानान्तर कमिटी निर्माण एमाले बिभाजनका लागि नभई एकताका लागि दवाव दिनकै लागि बनाइएको बताउनु भयो । नेता आचार्यले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूहरुले नचाहेको जानकारी पनि दिनुभयो । उहाँले आफूहरुको एकता अभियानकै पक्षमा देशभरका नेता कार्यकर्ता रहेको बताउनु भयो ।