जनता टाइम्स

४ असार २०७८, शुक्रबार १६:२१

दिउँसो एक बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक तीन बजेपछि सुरु


काठमाडौं, असार ४

दिउँसो एक बजेका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक तीन बजेपछि सुरु भएको छ । कांग्रेसको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गर्न बैठक बसेको नेताहरुले बताएका छन् । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी आन्तरिक कार्यतालिका परिमार्जन गरेको छ ।

हिजोको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशको संशोधित कार्यतालिका पेश गर्नुभएको थियो । संशोधित कार्यतालिका अनुसार साउन १२ गते वडा अधिवेशन, साउन १६ मा गाउँ÷नगर अधिवेशन र साउन २० गते प्रदेश क्षेत्रीय अधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन साउन २३ गते हुने कार्यतालिकामा उल्लेख छ । दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते हुने गरी कार्यतालिका संशोधन गरिएको छ । क्रियाशील सदस्यता टुंग्याउन भने असार मसान्तको समय प्रस्ताव गरिएको छ ।