जनता टाइम्स

५ असार २०७८, शनिबार १५:३०

फेरि पार्टी सभापति र प्रधानमन्त्री बन्ने देउवाको चाहना, यस्तो छ दुवै पद हत्याउने योजना


काठमाडौं, असार ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि पार्टी सभापति बनेर प्रधानमन्त्री बन्ने आफ्नो रोडम्याप सुनाउनु भएको छ । प्रदेश नम्बर १ का केन्द्रीय सदस्यहरुसँग आफ्नै निवास बूढानिलकण्ठमा आज भएको छलफलमा देउवाले यस्तो रोडम्याप अघि सार्नुभएको हो ।

केन्द्रीय सदस्यहरुको छलफलमा आगामी भदौमा तोकिएको महाधिवेशनमा आफै सभापति चुनाव लडेर जित्ने र त्यसपछि प्रधानमन्त्री बनेर मुलुकलाई कांग्रेसको बाटोमा हिडाउने आफ्नो योजना पनि देउवाले राख्नुभयो । कांग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय लिएको छ ।

‘संसोधित कार्यतालिका अनुसार महाधिवेशन हुन्छ । म सभापतिमा फेरि लड्छु । मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको थियो । तीन तहको निर्वाचन गराएँ । हामीले प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाएपनि सिट कम जित्यौं,’ सभापति देउवाको भनाई उधृत गर्दै छलफलमा सहभागी एक नेताले जनताटाइम्ससँग भने, ‘म कांग्रेसलाई मेरै नेतृत्वमा सबैभन्दा ठूलो पार्टी बनाउँछु र सरकारको नेतृत्व गरेर कांग्रेसको बाटोमा मुलुकलाई अगाडि बढाउँछु ।’

आफू सभापति र प्रधानमन्त्री दुवै पदमा रहने योजना सुनाउने क्रममा सभापति देउवाले पार्टीमा धेरै काम गर्न बाँकी रहेकाले फेरि सभापतिमा दोहोरिन चाहेको जिकिर गर्नुभएको थियो ।