जनता टाइम्स

५ असार २०७८, शनिबार १९:२०

मेलम्चीका विस्थापितलाई स्थायी रुपमा पुनःस्थापना, पूर्वाधारका लागि छुट्टै रकम


काठमाडौं, असार ५ । वागमती प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपालले बाढी पहिरो पीडितलाई पुनःस्थापना गर्ने बताउनु भएको छ । जुरे पहिरो र भूकम्पबाट तङ्ग्रिँदै गर्दा बाढीले पुनः जिल्लालाई पहिलेको ठाउँमा पुर्याएको बताउँदै उहाँले यस्तो जानकारी दिनुभएको हो ।

उहाँले अहिले हेलिकप्टरबाट पहिरोमा परेकालाई उद्धार, बेपत्ताको खोजी जारी र मृतकको शव खोज्ने कार्य भइरहेको जानकारी दिनुभयो । उहाँले विस्तापितलाई स्थायी रुपमा स्थापित गरिने बताउनुभयो । ‘विस्थापितलाई स्थापित गर्नका लागि स्थानीय सरकारसँग मिलेर जग्गा उपलब्ध गराउने र सङ्घीय सरकारसँग मिलेर पुनर्निर्माणको काम गर्नेछौं,’ नेपालले भन्नुभयो, ‘पुनस्र्थापना गर्नका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको छ ।’

उहाँले गत वर्ष पुनःस्थापना गर्न बाँकी रहेका र अहिले बाढीपहिरामा परेकालाई स्थायी बसोबास गर्नका लागि सरकारले काम अगाडि बढाइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारले विस्थापितलाई ५० हजार तुरुन्तै, घरजग्गा नभएकालाई घडेरी किन्न तीन लाख र घर बनाउनका लागि पाँच लाख रुपैयाँ दिनेछ ।

पूर्वाधारका लागि छुट्टै रकम

प्रदेश सरकारले विस्थापितको घर नजीक बाटोघाटो, विद्युत्, ढल निकास र खानेपानीका लागि छुट्टै रकम उपलब्ध गराउने भएको छ । ‘न्यूनतम पाँच घरपरिवारको एउटै बस्ती बन्छ भने एक परिवार बराबर रु पाँच लाखका दरले पूर्वाधार विकासका लागि दिनेछौं,’ मन्त्री नेपालले भन्नुभयो, ‘यसका लागि सरकारले कानून बनाएर बजेट नै विनियोजन गरेको छ, यसमा सङ्घ र स्थानीय सरकारको दायित्व रहेको छ ।’

उहाँले जोखिम भएको ठाउँबाट बस्तीलाई अन्यत्र सारी सरकारले एकीकृत बस्ती बनाउने बताउनुभयो । चनौट बजारमा करीब ११० घरपरिवार बाढीका कारणले विस्थापित भएका छन । वागमती प्रदेशले हेभिटेन्ट ५० थान र त्रिपाल सय थान तथा १० प्याक औषधि बाढीपीडितलाई उपलब्ध गराएको थियो । यस्तै तिलगङ्गा आँखा अस्तालले सय परिवारलाई पुग्ने खाद्यान्न उपलब्ध गराएको छ ।