जनता टाइम्स

५ असार २०७८, शनिबार २०:१०

रामेछापको शैलुङमा पनि फेला पर्यो बहुमुल्य जडिबुटी यार्सागुम्बा


रामेछाप, असार ५ । रामेछापको शैलुङमा पनि बहुउपयोगी जडिबुटी यार्सागुम्बा फेला परेको छ । स्थानीय दावासंवु शेर्पाका अनुसार खोजी गर्ने क्रममा शुक्रबार यार्सागुम्बा फेला पारेको हो ।

यसअघि देखिनै यार्सागुम्बा पाइने अनुमान गरिएको भए पनि हालसम्म फेला परेको थिएन । तर यस पटक भने यार्सा संकलनको अनुभव भएका व्यक्तिलाई ल्याई खोजी गर्दा फेला परेको उहाँले जानकारी दिनुभयो । शुक्रवार केही समय खोजी गर्दा ३० वटा भन्दाबढी यार्सागुम्बा फेला परेपछि गाउँपालिका अध्यक्षलाई खबर गरिएको शेर्पाले जानकारी दिनुभयो ।

शैलुङमा यार्सागुम्बा फेला परेको खबरले दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तान उत्साहित हुनुभएको छ । मोक्तानले बहुमूल्य यार्सागुम्बा फेला परेको सो क्षेत्रलाई अब संरक्षण गरिने बताउनुभयो । उहाँले शैलुङ्गको यार्सागुम्बा संकलनको लागि छुट्टै कार्यविधि बनाएर अघि बढ्ने जानकारी पनि दिनुभयो ।