काठमाडौं, असार ६ । आगामी महाधिवेशनमा संस्थापन पक्षबाट पार्टी सभापतिको उम्मेदवार को बन्ने भन्नेमा कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति बिमलेन्द्र निधिबीच टक्कर देखिएको छ । सभापति देउवाले शनिबार प्रदेश २ अन्तर्गत रहेका पार्टीका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसँगको बैठकमा उपसभापति बिमलेन्द्र निधिले देउवालाई सभापतिको उम्मेदवार नभई प्रधानमन्त्री बन्न आग्रह गर्दा देउवाले अस्वीकार गरेपछि दुई उहाँहरुबीच टक्कर देखिएको हो ।
बैठकमा सहभागी नेताका अनुसार सभापतिमा आफूले प्रतिस्पर्धा गर्ने बताउँदै त्यसका लागि समर्थन जनाउन देउवासँग निधिले आग्रह गर्नुभएको थियो । देउवाले आफूनिकटका केन्द्रीय सदस्यहरुलाई बोलाएर १४ औं महाधिवेशनमा आफैं सभापतिका लागि प्रतिस्पर्धा गर्ने भएकाले सहयोग गर्न आग्रह गरेपछि निधिले त्यस्तो प्रस्ताव अघि सार्नुभएको थियो । तर, देउवाले निधिको प्रस्ताव अस्वीकार गर्दै आफैं अघि बढ्ने बताउनु भएको छ ।
बैठकमा सहभागी एक नेताले जनताटाइम्सलाई दिएको जानकारीअनुसार आफू पछि नहट्ने बताउदै देउवाले बरु दुवैजना उम्मेदवार हुनसक्ने भन्दै निधिलाई धम्क्याउनु भएको छ । ‘सभापतिका लागि मै लड्ने हो, म धेरै अगाडि बढिसकें, तपाईलाई पनि अधिकार छ, लडनोस,’ देउवाको भनाई उधृत गर्दै ती नेताले भने । जवाफमा निधिले आफूले लामो समयदेखि देउवालाई सहयोग र समर्थन गरेकाले सभापति लड्नमात्रै नभई समर्थन माग्ने अधिकारसमेत रहेको बताउनु भएको छ ।
आफ्नै समुहमा कुरा नमिलेको अवस्थामा देउवासँग भिड्न संस्थापनइतर पक्षमा पनि धेरैले उम्मेदवारी दिने बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्ण सिटौला र नेता शेखर कोइराला नेतृत्वको प्रतिस्पर्धामा हुनुहुन्छ । पटक पटक सार्दै आएको नेपाली कांग्रेसलाई संबिधानअनुसार भदौंमा महाधिवेशन गर्नै पर्ने बाध्यता रहेको छ । महाधिवेशनको तिथि तोकेसँगै कांग्रेसमा सभापतिका आकांक्षी बढेका छन ।













प्रतिक्रिया दिनुहोस्