जनता टाइम्स

६ असार २०७८, आईतवार ०९:३१

पोर्चुगलमाथि जर्मनीको सानदार जित


काठमाडौं, ६ असार । युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह डीको दोस्रो खेलमा जर्मनीले पोर्चुगलमाथि फराकिलो जित दर्ता गरेको छ । खेलमा सुरुवाती अग्रता लिएपनि पोर्चुगलले डिफेन्समा बिर्सनलायक प्रदर्शन गरेपछि जर्मनी ४(२ को जित दर्ता गर्न सफल रहयो ।

खेलको पाँचौ मिनेटमा रोबिन गोसेन्सले गोल गरेपनि उक्त गोलले मान्यता पाएन । गोलअघि क्रस आउने क्रममा नै फरवार्ड सर्ज गनाब्री अफसाइड पोजिसनमा रहेकाले गोलले मान्यता पाएको थिएन । दशौं मिनेटमा गोलरक्षक रुइ प्याट्रीसिओले काइ हाभर्ट्जले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई विफल पारे । त्यसैको रिबाउन्डमा उनले गनाब्रीलाई पनि सट प्रहार गर्ने अवसर दिएनन् ।

१४ औं मिनेटमा पोर्चुगलले कप्तान क्रिस्टियानो रोनाल्डोको गोलमा अग्रता लियो । काउन्टर अट्याकमा सुन्दर मुभ बनाएको पोर्चुगलका लागि डिओगो जोटाले पेनाल्टी क्षेत्र भित्रबाट अनमार्क रहेका रोनाल्डोलाई पास दिएपछि रोनाल्डोले खाली पोस्टमा गोल गरेका थिए । त्यसअघि बर्नार्डो सिल्भाले जोटालाई भेट्न सुन्दर क्रस फिल्ड पास दिएका थिए ।

२२ औं मिनेटमा पोर्चुगलले अग्रता दोब्बर पार्ने अवसर पाएको थियो । छोटो कर्नरपछि राफेल गुरेरोले दिएको क्रसलाई रुबेन डियासले ६ यार्ड बक्सभित्र हेडर पास दिएपनि पेपे उक्त बलसम्म पुग्न सकेनन् । त्यसअघि गोसेन्सको प्रहारलाई गोलरक्षक प्याट्रीसिओले रोकेका थिए ।

खेलको ३५ औं मिनेटमा जर्मनी खेल बराबर गर्न सफल भयो । रोबिन गोसेन्सले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको क्रस डियासलाई लाग्दै गोल भएको थियो । हाभर्ट्जलाई रोक्ने प्रयासमा डियासको क्लिअरेन्स गोल भएको थियो । त्यसको ३ मिनेटपछि नै जर्मनीले आत्मघाती गोलमा अग्रता लियो । जोशुवा किम्मिखको क्रसमा राफेल गुरेरोको क्लिअरेन्स गर्ने प्रयास आफ्नै पोस्टमा छिरेपछि पोर्चुगल पछि परेको थियो ।

४४ औं मिनेटमा गोसेन्सले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार प्याट्रीसिओले विफल पारे । त्यसको रिबाउन्डमा किम्मिखको प्रयासलाई डिफेन्डरले छेक्दै सफल हुन दिएनन् । इन्ज्युरी समयको अन्तिम मिनेटमा सर्ज गनाब्रीले काउन्टर अट्याकमा आफैं बढाएको आक्रमणमा पेनाल्टी क्षेत्र भित्र पुगेर गरेको प्रहारमा प्याट्रीसिओ नै बाधक बने ।

दोस्रो हाफको सुरुवातमा नै जर्मनीले अग्रता बढाउन सफल रहयो । ५१ औं मिनेटमा हाभर्ट्जले प्रतियोगितामा पहिलो गोल गर्दै ३९१ को स्कोर बनाएका थिए । गोसेन्सको क्रसलाई हाभर्ट्जले ६ यार्ड बक्स भित्रबाट पहिलो टचमा फिनिस गर्न सफल भएका थिए ।

६० औं मिनेटमा रोबिन गोसेन्सले जर्मनीलाई ४(१ को अग्रता दिलाए । पेनाल्टी क्षेत्रको दायाँ भागबाट किम्मिखले दिएको क्रसलाई फार पोस्टमा अनमार्क रहेका गोसेन्सले हेडरमार्फत गोल गरेका थिए ।

६६ औं मिनेटमा पोर्चुगलले गोल गर्दै खेलमा फर्कने संकेत देखाएको थियो । गुरेरोको फ्रिकिकलाई रोनाल्डोले फार पोस्टबाट जोगाएपछि आएको पासमा जोटाले गोल गरेका थिए । ७८ औं मिनेटमा रेनाटो सान्चेसले लामो दुरी बाट गरेको प्रहार पोस्टमा लागेर फर्कियो । वैकल्पिक खेलाडी सान्चेसले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहारमा गोलरक्षक समेत बिट भएको अवस्थामा पोस्टमा लाग्दा पोर्चुगलले गोलअन्तर घटाउन सकेन ।

काउन्टर अट्याकमा अघि बढेको जर्मनीका लागि ८३ औं मिनेटमा लिओन गोरेट्जकाले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको शक्तिशाली प्रहार पोस्टभन्दा थोरै माथिबाट गएको थियो ।

जर्मनी यस जितसँगै समूहको दोस्रो स्थानमा उक्लिएको छ । जर्मनीसँग समान ३ अंक भएपनि हेड टु हेडमा पोर्चुगल तेस्रो स्थानमा रहेको छ । २ खेलमा ४ अंक जोडेको फ्रान्स शीर्षस्थान तथा हंगेरी १ अंक जोड्दै चौथो स्थानमा रहेको छ । समूहको चारै टोलीको अर्को चरणमा पुग्ने सम्भावना रहेको छ ।