काठमाडौं, असार ६
थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी पक्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर सिंहका अनुसार प्रहरीले घरबेटीविरूद्ध गत शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो।
यसअघि आफ्नी आमासँग बस्दै आउनुभएको रूपा गत मंगलबार बबरमहलमा कोठा खोज्न जानुभएको थियो । आफ्नी साथीले देखाउन लगेको कोठा रूपालाई मन परेको थियो । सुरूमा घरबेटीले कोठा दिने मञ्जुर भएपनि पछि थरका कारण कोठा नदिने भएको थियो । भाडाको कुरा गरेपछि जातको कुरा आउँदा रूपाले घरबेटीलाई आफू कामीकी छोरी हुँ भनेपछि भने घरबेटीले कोठा नदिएकी हुन्।
रूपा इमेज टेलिभिजनको उकाली ओराली कार्यक्रमको प्रस्तोता समेत हुनुहुन्छ । रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै गत बिहीबार प्रहरी वृत्तमा जाहेरी दिनुभएको थियो । प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो। त्यसबमोजिम कसुर गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजारदेखि दुई लाख रूपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान छ।













प्रतिक्रिया दिनुहोस्