जनता टाइम्स

६ असार २०७८, आईतवार १७:१४

घुससहित रंगेहात समातिए बन कार्यालयका प्रमुख


धादिङ, असार ६ । धादिङ सदरमुकामस्थित निलकण्ठ सवडिभिजन वन कार्यालय प्रमुख कृष्णप्रसाद पौडेल ४० हजार घूस रकमसहित पक्राउ परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले आज कार्यकक्षबाटै सहायक वन अधिकृत पौडेललाई पक्राउ गरेको हो । उजुरी निवेदनको आधारमा स्ट्रिङ अपरेसन गर्दा कार्यालय प्रमुख पौडेललाई रंगेहात पक्राउ गरिएको आयोग प्रवक्ता सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

‘केही दिनअघि फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठ अनुसन्धान गर्न कागजात माग गरिएको रहेछ’, प्रवक्ता रिसालले भन्नुभयो, ‘त्यही मुद्दा मिलाउन भन्दै लिएको ४० हजार नगदसहित पक्राउ गरिएको हो ।’

पक्राउ परेका कार्यालय प्रमुख पौडेललाई थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाही अगाडि बढाइने अख्तियारले जनाएको छ । पौडेलले गत कार्तिकदेखि निलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुखको जिम्मेवारीमा थिए ।