जनता टाइम्स

७ असार २०७८, सोमबार १९:४०

धुलिखेलको बजेटमा स्वास्थ्यलाई प्राथमिकता


काठमाडौं, असार ७

धुलिखेल नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि १ अर्ब १५ करोड १५ लाख रुपैयाको बजेट प्रस्तुत गरेको छ । कोभिड महामारीको नियन्त्रण तथा व्यवस्थापन र नागरिकहरुको उपचार, स्वरोजगार, आयआर्जन बृद्धी तथा गरिवी न्यूनिकरणलाई बजेटले प्राथमिकता दिएको छ । ‘आगामी आर्थिक वर्ष भित्र सय प्रतिशत खानेपानी उपलब्ध गराउने शहरका रुपमा धुलिखेललाई चिनाउने गरी बजेट विनियोजन भएको नगर प्रमुख अशोक श्रेष्ठ ब्याञ्जुले बताउनुभयो । उहाँले भन्नुभयो,‘५ हजार ५८५ घर धुरीमा खानेपानी सेवा उपलबध गराइसकेका छौं अब १ हजार १६७ घर धुरीमा निर्माण कार्य भईरहेको छ, त्यो पनि चाँडै नै सम्पन्न हुन्छ ।’

बाँकी ३ सय घरधुरीका लागि आगामी आर्थिक वर्ष ३ करोड ६० लाख बजेट विनियोजन भएको उहाँले सुनाउनुभयो । नगरपालिकाले कुल विनियोजन बजेट मध्ये चालू खर्च तर्फ ५७ करोड ४५ लाख ७४ हजार अथार्त ४९.९० प्रतिशत र पूँजिगत खर्च तर्फ ५७ करोड ५४ लाख २६ हजार अथार्त ४९.९७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १५ लाख अथार्त ०.१३ प्रतिशत रकम विनियोजन भएको छ । त्यस्तै बजेटमा हरेक नागरिकहरुको परिवारमा एक घर–एक बैंक खाता नीति अनुरुप बैक खाता खोल्न नगरपालिकाले प्राथमिकतामा राखेको छ । धुलिखेल नगर, धुँवामुक्त शहर भन्ने कार्यक्रममार्फत दाउरा बालेर खाना बनाउने घर परिवारमा दाउरा विस्थापन गरी बैकल्पिक उर्जा प्रर्वद्धन गर्न विद्युत्तिय चुलो वितरण गरिने समेत बजेटमा उल्लेख छ ।

यस्तै हरेक स्वास्थ्य केन्द्रमा २ शैया र २ वटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने, स्वस्थ शहर अभियानलाई साकार बनाउन विभिन्न कार्यक्रम गर्ने नगर प्रमुख ब्याञ्जुले बताउनुभयो । उहाँले थप्नुभयो,‘कोभिडबाट थलिएका उद्यमी ब्यवसायीहरुलाई सहज हुने गरी करमा छुट तथा मिनाहा गर्ने, कृषि तथा पशुपालन क्षेत्रलाई सहुलियत प्रदान गर्ने, अपाङ्गता भएर परिचयपत्र मात्रै प्राप्त गर्ने व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने र पेशा व्यवसाय गरेको हकमा ब्याजमा अनुदान उपलब्ध गराउने, सरुवा रोग तथा डाईलोसिस अस्पतालको स्थापना गर्ने गरी बजेट विनियोजन भएको छ ।’

‘रोग विरुद्धको चेतना व्यक्ति–व्यक्तिमा, रोगको उपचार बस्ति–बस्तिमा, कोरोना योद्धा पुरस्कार, स्वास्थ्य बीमा नगरको जिम्मा, पोषण स्वास्थ्यमा नगरको अग्रता, बालबालिका र महिलाको सहभागिता, निःशुल्क एम्बुलेन्स सेवा, विपदमा नगरपालिकाको साथ, समुदायमा कोरोना नियन्त्रण कार्यक्रम, कोभिड १९ नियन्त्रण सहकार्य, पोषण विशेष कार्यक्रम, विशेषज्ञ घुम्ति सेवाहरु, कोरोना विरुद्धको खोप, मानसिक रोग तथा मानसिक परामर्श, स्वास्थ्यका लागि ब्यायाम, हाम्रो स्वास्थ्य हाम्रो सरोकार रेडियो कार्यक्रम, आयुर्वेद सेवा विस्तार, स्थानीय जडिबुटी तथा औषधीजन्य खाद्य पदार्थको प्रर्वद्धन’ गर्ने गरी बजेट विनियोजन भएको छ ।

यता कोभिडलाई मध्यनजर गर्दै घर बसेर अध्ययन गर्ने बालबालिकाहरुका लागि सहज वातावरण बनाउने उदेश्यले रेडियो पाठशाला कार्यक्रम र सियुजी सिममार्फत फोनिङ कार्यक्रम संचालन गरी नियमित सिकाई सहजीकरण गर्ने, बहुकक्षा बहुस्तर शिक्षणपद्धती विस्तार गर्ने, शैक्षिक गुणस्तर सुधार कार्यक्रमलाई अझै सुधार गर्ने, यात्री शिक्षकको ब्यवस्था, विद्यार्थीसँग मेयर कार्यक्रमको निरन्तरता, स्नातक तहसम्मको शिक्षालाई नगरका नागरिकहरुलाई पूर्ण रुपमा निःशुल्क र अन्य जिल्लाका नागरिकहरुका लागि ५० प्रतिशत शुल्क मिनाहाको व्यवस्था गर्ने गरी बजेट विनियोजन गरेको नगर प्रमुख ब्याञ्जुले सुनाउनुभयो ।

  • पालिकाले शैक्षिक क्षेत्रका कार्यक्रमहरु कार्यान्वयनका लागि १ करोड ५ लाख रकम विनियोजन गरेको छ । नगरमा बसोबास गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुका लागि १ लाख बराबरको दुर्घटना बीमा गर्ने, युवाहरुलाई आत्मनिर्भर, स्वावलम्वी र चरित्रवान बनाउन स्वयसेवी संस्कृतिको विकास र श्रमको सम्मान क्रियाकलापलाई अघि बढाउने पनि उल्लेख छ । त्यस्तै महिलासँग उपमेयर कार्यक्रम, उपमेयर सुत्केरी तथा गर्भवति पोषण कार्यक्रमको निरन्तरता, टुहुरा संरक्षण कार्यक्रम, अभिभावक शिक्षा कार्यक्रम, अग्रजको अनुभव विकासको जग अवधारणा, ब्यक्तिगत घटना दर्ता सम्वन्धमा देशकै नमूना सिकाई तथा व्यस्थापकीय केन्द्रको रुपमा विकास, धुलिखेलको आवाजः छुवाछुतमुक्त समाज अभियान शुरु गरिएको छ । सडक पूर्वाधारका लागि भने १५ करोड रकम विनियोजन भएको मेयर व्याञ्जुले जानकारी दिनुभयो ।

प्रमुख श्रेष्ठले धुलिखेल चक्रपथ रेखांकन, अपाङ्गमैत्री ट्रेल निर्माण, माउन्टेन स्पोट्स ट्रेनिङ्ग सेन्टर निर्माण, विना धितो कृषि ऋणका लागि समन्वय गर्ने, १० वर्ष देखि बाँझो रहेका जमिनमा खेति प्रारम्भ गर्ने कृषकलाई सम्पति करमा छुट, नगरलाई दुधमा आत्मनिर्भर बनाउन व्यवसाय प्रर्वद्धन कार्यक्रम, कृषिमा आधुनिकिरण र ब्यवसायीकरणका लागि कृषक लाभान्वित हुने कार्यक्रम बजेटमा समेटिएको पनि उहाँले सुनाउनुभयो ।