जनता टाइम्स

८ असार २०७८, मंगलवार १०:०७

माधव समुहमै देखियो गम्भीर बिवाद, एकता पक्षधर पाँच नेताबिरुद्ध चलाइयो अभियान


काठमाडौं, असार ८ । एकताको पक्षमा उभिएका पाँच नेताबिरुद्ध माधव समुहले अभियान नै चलाएको तथ्य बाहिर आएको छ । माधव निकट नेता जगन्नाथ खतिवडाले एकताको पक्षमा लाग्नुभएका योगेश भट्टराई र भीम आचार्यको नामै लिएर भिडन निर्देशन दिनुभएपछि माधव समुहले एकतालाई केवल हात्तिको देखाउने दाँत मात्रै बनाएको र आफ्नै समुहका एकता पक्षधर नेताहरुमाथि अभियान चलाएको तथ्य उजागर भएको हो ।

एमाले बिभाजन गरी नेकपा माओवादीमा बिलय गराउने अभियानमा लाग्नुभएका नेता नेपालकै निर्देशनमा खतिवडासहित डा. बिजय पौडेल, रामकुमारी झाँक्रीसहितका नेताहरुले एकताका लागि पहल थालेका पाँच नेताबिरुद्ध अभियान चलाउनु भएको हो । उहाँहरुले आफ्नो ग्रुप बनाएर अव भिडनुपर्ने बताउनु भएको छ । पछिल्लो समय माधव नेपाल समूहका नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, घनश्याम भूषाल, गोकर्ण विष्ट र भीम आचार्यको विरुद्ध संगठित हुन थालेका छन् । पुस्पलाल मित्रता केन्द्रका नाममा जगन्नाथ खतिवडाले नेतृत्व गरेको समूह पाँच नेताविरुद्ध खुलेरै लागेको छ ।

‘अब योगेश भट्टराईहरुसँग भिड्नु पर्ने अवस्था आएको छ, यसका लागि तयारी रहनुहोला, उहाँहरुले हामीलाई धोका दिदै हुनुहुन्छ’, खतिवडाले मित्रता केन्द्रको बैठकमा भन्नुभएको छ । खतिवडाले आफू निकटका केही पत्रकाहरुलाई ग्रुपमै अब योगेशजी र भीम जीसँग भिड्नु पर्ने अवस्था आउदै छ भनेर सार्वजनिक रुपमै म्यासेज पठाउनु भएको छ ।

नेपाल समूहबाट सबैभन्दा पहिला नयाँ दल खोल्नु हुँदैन भनेर आवाज उठाउने भट्टराईका विरुद्ध नयाँ दल खोल्नुपर्छ भन्नेहरुले आन्तरिक संघर्ष गर्नु भन्दै आफ्नो समूहमा धारणा राख्न थालेका छन् । नेपाल समूहमा खतिवडा अध्यक्ष केपी ओलीसँग मिल्नु हुँदैन भन्ने समूहको नेतृत्व गरिरहनु भएको छ । सो समुहमा डा. विजय पौडेलसहित राजेन्द्र राई, यज्ञराज सुनुवार, रामकुमारी झाँक्रीसहितका नेताहरु हुनुहुन्छ । अलग पार्टी बनाएर कांग्रेस र माओवादीलाई बलियो बनाउनुपर्ने उहाँहरुको अभियान छ ।

माधव नेपाललाई कार्यकारी अधिकार नपाउने भएकाले एमालेमा बस्न हुँदैन भन्दै खतिवडाको समूहले एकता होइन, नयाँ पार्टी भन्ने अभियान नै चलाएको हो । वरिष्ठ नेता झलनाथ खनालले दिल्ली जाने दिन विज्ञप्ति जारी गरी विगतका सबै कुरा बिर्सिएर पार्टी एकता गर्न आह्वान गरेलगत्तै खतिवडा समुहले आपत्ति जनाएको थियो । सो वक्तब्यलाई खतिवडाले सामाजिक सञ्जालमा नक्कली भएको टिप्पणी गर्नुभएको थियो । पछिल्लो समय आफूले चालेको अभियान माधव नेपालकै निर्देशनमा भएको र आफूहरु नै माधवको असली उत्तराधिकारी रहेको खतिवडाले आफ्नो समुहको बैठकमा बताउने गर्नुभएको छ ।