जनता टाइम्स

८ असार २०७८, मंगलवार १४:०८

एमाले वार्ता टोलीलाई केन्द्रीय सदस्य दाहालको प्रश्न : माधव नेपालको घिनलाग्दो हर्कतको बारेमा के छलफल भैरहेको छ ?


काठमाडौं, असार ८ । एमाले नेता देवेन्द्र दाहालले एकताको नाममा नाटक मञ्चन नगर्न नेताहरुलाई सुझाउनु भएको छ । प्रतिक्रियावादी गठबन्धनमा खुलेयाम लागेर बार्ताको नाटक गर्नुको औचित्य नरहेको भन्दै दाहालले बार्ता टोलीसँगै पाँच कठोर प्रश्न गर्नुभएको हो ।

विवाद समाधान गरी एकतावद्ध एमाले अभियानमा नेताहरु लागेपनि नतिजान्मुख बनाउन नसकेकामा राष्ट्रिय सभा सदस्यसमेत रहनुभएका नेता दाहालले आक्रोशसमेत पोख्नुभएको छ ।

आजका दिन सम्म ‘एमाले हुँ’ भनेर भन्ने तर विपक्षी या प्रतिक्रियावादीको बैठकमा गएर एमाले सिध्याउँछु भन्ने अराजकहरुको घिनलाग्दो व्यवहारका सम्बन्धमा के छलफल भइरहेको छ भन्दै उहाँले बार्ता टोलीमाथि प्रश्न् गर्नुभएको छ ।

यस्तो छ दाहालको कुरा
नेकपा (एमाले) को अहिलेको बिवादको बारेमा :

यो बिषयमा अहिलेसम्म मैले धेरै नवोली बसेको अवस्था हो । तर आज बोल्नै पर्ने जस्तो महसुस भयो ।
पार्टीमा नेताहरुको एकताको चर्चा भएको निक्कै लामो समय भै सकेको छ । दुवैतिरबाट केही साथीहरु लागिरहनु भएको छ ।

तर मैले के बुझ्न सकेको छैन भने उहाँहरु के बिषयमा छलफल गरिरहनु भएको छ ? तपाईहरु कार्यकर्ताहरुका निम्न कुराहरुको जवाफ दिएर मात्र वार्तामा बस्नु राम्रो हुन्छ ।

१. यदि जेष्ठ २ गतेको अवस्थामा जाने दुवैतर्फको सहमति हो भने अव अरु के कुरामा छलफल गर्नुपर्यो ? विधि पद्घतीको कुरा गर्नेले त्यही कमिटीमा छलफल गरेर निष्कर्ष निकाल्दा हुँदैन ?

२. एमालेका नेता हौं भन्नेले आफ्नो पार्टीको नेतृत्वको सरकार ढालेर पुँजीवादी वा हामीले प्रतिकृयावादी भनिएको कांग्रेसलाई प्रधानमन्त्री बनाउन लाज घिन नमानीकन सही गर्नेहरुले पहिलो नम्बरमै त्यो सही फिर्ता लिनु पर्ने होईन र ? त्यसबारेमा के प्रगति भयो ?

३. बिभिन्न प्रदेशहरुमा हाकाहाकी एमालेका बिरुद्धमा लाग्ने अनि पार्टीले स्पस्टीकरण लिएर कार्यबाही गर्दा अदालतको साहारा लिएर लाज पचाएर पुनर्बहाली हुँदै फेरी एमालेकै सांसद भएर भत्ता खाने बिपक्षीको सरकार टिकाऊन लाग्ने प्रदेश सभा सदस्यहरुले गरेको घिन लाग्दो हर्कतको बारेमा के छलफल भै रहेको छ ।

४. अहिले आजका दिन सम्म पनि एमाले नै हुँ भन्दै बिपक्षी गठबन्धनको बैठकमा जाने एमालेलाई सिध्याऊँछु भन्दै कांग्रेस माओबादीसँग कसम खाँदै आऊने माधव नेपालको घिनलाग्दो हर्कतको बारेमा के छलफल भै रहेको छ ?

५. पार्टी एकता भनेको छ, म प्रश्न गर्न चाहान्छु के को एकता ? कोसँग एकता ? कुन पार्टी सँग एकता ? माधव नेपाल लगायतलाई त एमालेको साधारण सदस्य समेत नरहने गरी हटाई सकेको होईन ?

एमालेलाई कमजोर बनाएर मात्र माधव नेपालले बनाऊन लागेको पार्टी बलियो हुन्छ र कांग्रेसलाई बलियो बनाऊन सकिन्छ भन्ने सोच भएका अनि माओवादीसँग समाहित हुने कसम खाएर लागेका माधव नेपालको पछि नलागी अब ढिला नगरी पार्टी सुद्धीकरण र सुदृढीकरणमा लाग्नु नै श्रेयस्कर हुन्छ ।

माधव नेपालको यो हर्कत बुझेका वाहाँका पछि लागेका जनतामा स्थापित युवा नेताहरुलाई भ्रममा नपरी केपी ओलीले नेतृत्व गरेको एमालेमा आ–आफ्नो कमाण्ड सम्हालेर अगाडी बड्न हार्दीक अनुरोध गर्दछु । किनभने मुलुक र सम्बन्धित व्यक्तिकै लागी पनि राजनितीमा कित्ता स्पस्ट गर्नु नै राम्रो हुन्छ ।