काठमाडौं, असार ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी कमिटीका नेताहरुसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले उपलब्ध स्थायी कमिटीका सदस्यहरुसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे परामर्श गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
‘प्रधानमन्त्रीले एमाले स्थायी कमिटीका उपलब्ध सदस्यहरुसँग परामर्श गर्नुभएको हो,’ एमाले प्रचार बिभागका उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जनताटाइम्ससँग भन्नुभयो । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले बैठक आज १ बजेबाट बालुवाटारमा परामर्श गरिरहनुभएको हो ।
निवर्तमान स्वास्थ्यमन्त्री तथा पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टी एकता तथा अदालतको अन्तरिम अदेशपछिको उत्पन्न वस्तुस्थिति बारेमा केन्द्रित भएर प्रधानमन्त्रीले परामर्श गर्नुभएको हो । प्रधानमन्त्री ओलीले जेठ २१ र २७ गते दुई चरणमा विस्तार गर्नुभएको मन्त्रिपरिषदलाई मङ्गलबार सर्वोच्च अदालतले बदर गर्ने अन्तरिम आदेश गरेको थियो । सो अदेशपछि उत्पन्न परिस्थति र अगाडि बढ्ने कार्यनीतिबारे नेताहरुसँग परामर्श गरिएको हो । प्रधानमन्त्री ओलीले मङ्गलबार साँझ नै पदमुक्त हुनुभएका मन्त्रीहरुसँग पनि परामर्श गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्