जनता टाइम्स

९ असार २०७८, बुधबार १५:०७

देउवाको वकिलले दिन सकेनन प्रधानमन्त्री नियुक्ति र संसद बिघटन बदर गर्ने आधार


काठमाडौं, असार ९ । वरिष्ठ अधिवक्ता महादेव यादवले सर्वोच्च अदालतबाटै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषित गर्नुपर्ने जिकिर गर्नुभएको छ ।

आफूलाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै अदालतमा आउनुभएका रिट निवेदक देउवाको तर्फबाट बहस गर्नुभएका बरिष्ठ अधिवक्ता यादवले अदालतले थप कुरा नहेरी सिधै देउवालाई प्रधानमन्त्री घोषणा गर्नुपर्ने जिकिर गर्नुभएको हो । उहाँले परमादेशमार्फत देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने थप जिकिर पनि गर्नुभयो ।

‘पटक–पटक संविधानविरोधी काम प्रधानमन्त्रीबाट भएको छ । पटक–पटक संसद विघटन भैरहनुले दुराशयको कुरा उठ्छ । संविधानप्रति बारम्बार प्रहार गर्ने काम भयो । त्यसैले परमादेश दिएर देउवालाई प्रधानमन्त्री घोषित गर्नूपर्छ, प्रधानमन्त्रीमा देउवाको दावी पुगेको छ,’ सर्वाेच्च अदालतको संबैधानिक इजलाशमा आज बहश गर्दै बरिष्ठ अधिबक्ता यादवले भन्नुभयो । उहाँले बहुमत सांसदको हस्ताक्षर भन्दा बलियो दावी अरु हुन नसक्ने भएकोले देउवालाई अदालतबाटै प्रधानमन्त्रीको पदमा नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने जिकिर गर्नुभयो ।

प्रधानमन्त्री नियुक्तिका लागि सांसदहरू स्वतन्त्र हुने भन्दै दलीय ह्वीप नलाग्ने जिकिरसमेत यादवले गर्नुभएको थियो । यादवले बहशको क्रममा संबिधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्ति गर्दा बिश्वासको मत प्राप्त गर्न सक्ने आधार भए/नभएको बिषयमा भने केही बोल्नुभएन । उहाँले प्रधानमन्त्री नियुक्तिको दावी गर्दा बहुमत सांसद देउवातिर रहेकोले अदालतबाट नियुक्त गर्नुपर्ने एकोहोरो जिकिर गर्नुभएको हो । सांसदको संख्यामै सिमित भएर बहश गर्नुभएका यादवले संबैधानिक आधार पनि दिनसक्नु भएन ।

यादव जस्तै देउवाको पक्षबाट बहश गर्नुहुने अन्य कानून ब्यवसायीले पनि सांसद आफै अदालतमा उपस्थित भएको भन्दै देउवालाई प्रधानमन्त्री घोषणा गर्नुपर्ने जिकिर गर्नुभयो । तर संबिधानको धारा ७६ को उपधारा ५ अनुसार प्रतिनिधिसभाबाट बिश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको भन्ने राष्ट्रपतिको निर्णयको आधारबारे केही उच्चरण नगरेका हुन ।