जनता टाइम्स

१० असार २०७८, बिहीबार २०:४९

ओलीलाई प्रचण्डको सन्देश : माधव नेपाल हाम्रा भइसके, एमाले फर्कने संभावना छैन


काठमाडौं, असार १० । नेपाली कांग्रेस नेतृत्वको बिपक्षी गठबन्धनले एमालेबाट निलम्बित नेता माधव नेपाल आफूहरुको भइसकेको ठोकुवासहित एमालेमा फर्कने संभावना नरहेको संन्देश दिएको छ । बिपक्षी गठबन्धनले आज आफ्नो पक्षमा लेख्ने सम्पादकहरुलाई बोलाएर आफ्नो धारणा राख्दै माधव नेपालको समस्या गठबन्धनको समस्या भन्दै एमालेमा फर्कने संभावना नरहेको सन्देश प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संगठित भएको विपक्षी गठनबन्धनले आफूहरुको सहकार्य ओलीलाई सत्ताबाट हटाउनमात्र सिमित नहुने भन्दै माधवको बारेमा कित्ता क्लियर गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले उपेन्द्र यादव र माधव नेपालको समस्या आफूहरुको समस्या भएको भन्दै रेस्क्यू गर्ने घोषणा गर्दै एमालेबिरुद्ध आउने चुनावसम्म सहकार्यमा रहने स्पष्ट सन्देश पनि दिनुभयो ।

प्रचण्डले गठबन्धनमा आबद्ध एमालेको माधव नेपाल समूह कानूनी लगायत धेरै झमेलामा रहेको भन्दै माधव नेपाल र उपेन्द्र यादवहरुलाई अड्डा अदालतको कारवाहीबाट जोगाउन गठबन्धनले सक्दो पहल गरिरहेको बताउनु भयो । पछिल्लो पटक अदालतले एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको कारवाहीलाई मान्यता नदिएको आदेशभित्र पनि विपक्षी गठबन्धनको भूमिका रहेको चर्चा चलेका बेला प्रचण्डले माधव र उपेन्द्रको अप्ठ्यारोमा आफूहरुको साथ रहने भन्दै सेटिङको गन्धलाई पुष्टि गर्नुभयो । प्रचण्डले २० जना मन्त्री पदमुक्ति सम्बन्धी अदालतको आदेश आउनु अघिल्लै दिन सर्वोच्चले मन्त्रीहरुलाई मुक्त गर्ने बताउनु भएको थियो ।