जनता टाइम्स

११ असार २०७८, शुक्रबार १४:२८

प्रचण्डले पूर्वराजाको वकालत गरेपछि…


काठमाडौं, असार ११ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल, प्रचण्डले सुबिचारित रुपमै पूर्वराजाको पक्षमा वकालत गर्नुभएको तथ्य बाहिर आएको छ । प्रचण्डको अभिब्यक्तिलाई लिएर माओवादी केन्द्रकै नेताहरुले जानकारी मागेपछि आफूले पूर्वराजा ज्ञानेन्द्रलाई मान्ने मानिसहरुसँग सहकार्य अघि बढाउन पूर्वराजाको पक्षपोषण गरेको प्रष्टिकरण दिएपछि यो तथ्य बाहिर आएको हो ।

सम्पादकहरु बोलाएर बिपक्षी गठबन्धनको तर्फबाट प्रचण्डले राष्ट्रपतिको अपमान र पूर्वराजाको सम्मान गरेपछि चर्काे आलोचना भएको छ । ‘राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ, तर यो भन्दा त राजा हुँदा नै बढी शान थियो । अहिले शान पनि छैन, मान पनि छैन र इज्जत पनि छैन,’ प्रचण्डको भनाई थियो । प्रचण्डको सो भनाईलाई सामाजिक सञ्जालमा शेयर गर्दै राजतन्त्रको वकालत गर्दै आउनु भएका राप्रपा अध्यक्ष कमल थापाले सही कुरा भन्नुभएको छ । उहाँले प्रचण्ड सही ठाउँमा आएकोले अव राजसंस्था पुनःस्थापनाको आन्दोलनको नेतृत्व लिन प्रचण्डलाई सुझाउनु भएको छ ।

थापाको भनाईले प्रचण्डको अभिब्यक्तिले पूर्वराजावादी कित्तामा खुसियाली छाएको छ । बिगतमा प्रजातन्त्र दरवारमा बुझाउने कामको नेतृत्व गर्नुभएका कांग्रेस सभापति शेरबहादुर देउवा, राजालाई दाम चढाएर र प्रधानमन्त्रीको निवेदन हालेर आफ्नो क्रान्तिकारी छवि बनाउनु भएका माधवकुमार नेपाललाई साँक्षी राखेर प्रचण्डले पूर्वराजा गुहारेपछि परिवर्तनकामी आम नागरिक भने चकित परेका छन । प्रचण्डको यस अभिब्यक्तिलाई एमाले नेता तथा लम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कडा ब्यंग्य गर्नुभएको छ । उहाँले प्रचण्डले पूर्वराजा गुहारेको हेर्न बाँकी थियो, त्यो पनि पूरा भयो भन्दै कडा टिप्पणी गर्नुभएको हो ।

‘राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाऊन पूर्वराजालाई गुहार्न बाँकी थियो, हिजोवाट त्यो पनि पूरा भएछ,’ मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ । पूर्वमन्त्री महेश बस्नेत, प्रधानमन्त्रीका पेस सल्लाहकार सूर्य थापा, एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक खीमलाल भट्टराईले पनि प्रचण्डको मुखबाट बिपक्षी गठबन्धनले गणतन्त्रबिरुद्ध गरिरहेको षडयन्त्र बाहिर आएको भन्दै कडा प्रतिवाद गर्नुभएको छ ।

प्रचण्डको मुखबाट सके अबैधानिक बाटोबाट सत्ता कब्ज गर्ने नसके गणतन्त्र फालेर राजतन्त्रतिर जाने बिपक्षी गठबन्धनको योजना बाहिर आएको आम नागरिकको बुझाइ छ । कतिपयले प्रचण्डको बचाउ गरे पनि राष्ट्रपतिसँग पूर्वराजा वा राजतन्त्रको तुलना गर्ने ब्यक्ति गणतन्त्रवादी हुन नसक्ने तथ्यलाई बिर्सिएका छन । त्यसो त सामाजिक सञ्जालमा ९ बर्षदेखि महाधिवेशन नै नगरी पार्टी र आफ्नै पद अबैध बनाउनु भएका प्रचण्डले पूर्वराजाको वकालत पनि त्यही अबैध कामको निरन्तरताको रुपमा समेत ब्याख्या गरेका छन ।

प्रचण्डको सार्वजनिक अभिब्यक्तिपछि सामाजिक सञ्जालमा पक्ष बिपक्षमा तर्क भइरहेको छ तर बिपक्षमा अधिकांश उभिएका छन । राजतन्त्रसँग गणतन्त्र, राष्ट्रपतिसँग पूर्वराजाको तुलना गर्नु नै प्रचण्डको ब्यवस्थाप्रतिको बितृष्णाको रुपमा बुझ्न सकिने कतिपय बिश्लेषकको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैधानिक ढंगबाट हटाउन नसकेपछि अबैधानिक बाटोबाट सत्ता हत्याउने घोषित योजनामा लागेको बिपक्षी गठबन्धनका एक नेता प्रचण्डको कतै भावि योजना त सुनाउनु भएको होइन भन्ने प्रश्न पनि कतिपयले उठाएका छन ।

प्रचण्डको सो अभिब्यक्तिलाई कतिपयले पूर्वराजा ज्ञानेन्द्रसँगको दोस्ती उजागर भएको बताएका छन । उहाँको अभिब्यक्तिले पूर्वराजासँगको निकट सम्बन्धलाई खोल्ने काम गरेको उनीहरुको बुझाई छ ।