पोखरा, असार १३ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुई जना मन्त्रीलाई आज जिम्मेवारी तोक्नुभएको छ । मन्त्रिपरिषदमा रहेका ४ जना मन्त्रीमध्ये २ जनालाई आज जिम्मेवारी तोकिएको हो ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पोखरेलको सिफारिसमा मन्त्रीहरू कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालय तोक्नुभएको छ । नेपाली कांग्रेसबाट मन्त्री बन्नुभएका खड्कालाई सामाजिक विकास मन्त्रालय र माओवादी केन्द्रबाट मन्त्री बनेकी अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिइएको छ । सरकार परिवर्तनमा निर्णायक बनेका मन्त्री दिपक मनाङ्गेले भने मुख्यमन्त्रीबाट धोका पाउनु भएको छ ।
सुरुमा गृह र त्यसपछि भौतिक योजना मन्त्रालयको नेतृत्व लिन खोज्नुभएका मनाङ्गेलाई बिश्वासको मत पाएसँगै पुरानै मन्त्रालय वा बिनाबिभागीयमै चित्त बुझाउन मुख्यमन्त्री पोखरेलले सुझाउनु भएको स्रोतले जनताटाइम्सलाई बतायो । मुख्यमन्त्री निकट स्रोतका अनुसार मनाङ्गेलाई यसअघिका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दिनुभएको जिम्मेवारीलाई नै निरन्तरता दिन वा बिनाबिभागीय रहेर प्रदेशसभालाई चुनाव हुनबाट जोगाउने भुमिका खेल्न भनिएको छ । मनाङ्गेले आफू प्रदेशसभा बचाउने भ्याक्सिन भएको घोषणा गरिसकेको कारण मन्त्रालय नपाउँदा पनि सो काम गर्न सुझाइएको हो ।
कांग्रेसभित्र मनाङ्गेलाई बिनाबिभागीय मन्त्रीमै राख्न मुख्यमन्त्रीमाथि चर्काे दवाव परेको छ । सोही कारण आज जिम्मेवारी तोक्दा उहाँलाई कुनै जिम्मेवारी दिइएको छैन । त्यस्तै जसपाबाट मन्त्री बनेका हरिशरण आचार्य पनि विनाविभागीय नै रहनुभएको छ । पछिल्लो समय गण्डकीमा कांग्रेस र माओवादीबीच महत्वपुर्ण मन्त्रालय आफूहरुले लिएर छाडेको मन्त्रालय जसपालाई दिने र मनाङ्गेलाई बिनाबिभागीयमै राख्ने भित्री योजना बनेको छ ।














प्रतिक्रिया दिनुहोस्