जनता टाइम्स

१३ असार २०७८, आइतबार १७:१३

कांग्रेस कार्यकर्ताले गरे मध्यराती कोरोना उपचारमा खटिएका चिकित्सकमाथि निर्घात आक्रमण


दोलखा, असार १३ । तामाकोसी गाउँपालिका–४ मालु स्थित कोभिड १९ अस्थायी अस्पतालमा कार्यरत डाक्टरमाथि गएराति कुटपिट भएको छ । कोभिड बिरामीहरुको उपचार गराइरहेका डाक्टर रोविश कार्की र कार्यालय सहायक टोपबहादुर मिजारलाई स्थानीय युवाहरूले निर्घात कुटपिट गरेका हुन ।

गत बैशाखदेखि कोरोना संक्रमितको मात्रै उपचार गराइरहेको सो अस्पतालमा तामाकोसी गाउँपालिका वडा–४ कै स्थानीय युवाहरु गोपाल तिमल्सिना, रोशन पोखरेल, कुमार श्रेष्ठ र विजुली नेपालीको टोलीले आफूहरूलाई कुटपिट गरेको डाक्टर कार्कीले बताउनु भयो । युवाहरु दुईवटा मोटरसाइकलमा मध्यराती उपचारको लागि अएको र कोभिड अस्पतालमा संक्रमणको जोखिम हुने भएकाले भित्र नआइ बाहिरनै उपचार गर्छु भन्दा आफूहरूमाथि कुटपिट भएको कार्कीको भनाई छ ।

‘राती १२ बजेतिर जाड खाएर आ–आफूनै झगडा गरेर गोपाल तिमल्सिनाको खुट्टा सुन्निएको अवस्थामा अस्पतालमा उपचार गर्न आएका रहेछन, भित्र कोभिडको जोखिम हुन्छ गेट बाहिरनै हेरेर उपचार गरिदिन्छु भन्दा उनिहरुले बेसकन गाली गरे,’ घटनाबारे जानकारी दिँदै चिकित्सक कार्कीले भन्नुभयो, ‘त्यसपछि हामी गेट लगाएर भित्र छिर्यौं तर पर्खाल नाघेर आएका उनीहरुले कार्यालय सहयोगी टोपबहादुर मिजारलाई घाटीमा समातेर न्याके र मलाई गोपाल तिमल्सिनाले छातीमा हाने ।’ उनीहरुको आक्रमणबाट भागेर अस्पताल भवनभित्र छिरेर ढोका लगाएर आफूहरु बाँचेको उहाँको भनाई छ ।

ढोका लगाएपनि बाहिरबाट ढोका हानेर ज्यान मार्नेसम्मको धम्की दिए र केही समयपछि उनीहरु मोटरसाइकल चढेर गएको डाक्डर कार्कीले जानकारी दिनुभयो । उनीहरुको आक्रमणबाट ढोकाको चुकुल बांगिएर विग्रिएको छ । आफूहरमाथि आक्रमण हुन थालेपछि पालिका र प्रहरीमा खबर गरेपनि राती साढे १ बजेको समयमा मात्रै प्रहरी घट्ना स्थलमा पुगेका थिए । छौडे र किर्नेटारबाट प्रहरी त्यँहा पुगेका थिए ।

कुटपिटमा सामेल युवाहरूमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी भेषराज रिजालले घटनालाई निकै गम्भीरतापुर्वक लिई आक्रमणमा संलग्न तीन जनालाई पक्राउ गरिएको बताउनु भयो । उहाँका अनुसार कुमार श्रेष्ठ भने हालसम्म फरार छन । उनको संलग्नता हेरेर थप एक्शन लिने डिएसपी रिजालले जानकारी दिनुभयो ।

कोरोना महामारीको समयमा चिकित्सक र सहयोगीमाथि आक्रमण गर्ने युवाहरु नेपाली कांग्रेसका स्थानीय नेता हुन । स्वास्थ्यकर्मीहरुले सो घटनाको कडा भत्र्सना गर्दै कुटपीटमा संलग्नमाथि कडा कार्वाहीको माग गरेका छन ।