जनता टाइम्स

१५ असार २०७८, मंगलवार १५:५६

प्रदीप ज्ञवालीको निश्कर्ष : ओली सरकारले मुलुकलाई नयाँ उचाइमा पुर्यायो


काठमाडौं, असार १५ । नेकपा (एमाले) का प्रवक्ता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकलाई नयाँ उचाइमा पुर्याएको ठोकुवा गर्नुभएको छ । राष्ट्रिय धान दिवसको उपलक्ष्यमा आज भक्तपुरमा आयोजित रोपाईं कार्यक्रममा बोल्दै प्रवक्ता ज्ञवालीले ओली नेतृत्वको सरकारले मुलुकलाई केही वर्षमा नयाँ उचाइमा पुर्याएको तथ्य राख्नुभयो ।

‘प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गएका केही वर्ष मुलुकले नयाँ दिशा, नयाँ उचाई र नयाँ एउटा गति प्राप्त गर्यो,’ ज्ञवालीले भन्नुभयो ।
कुनै समयमा हिंसाका कारण मानिसहरू बोल्न नसक्ने अवस्था रहेकोमा ओली सरकारले नै अवस्था परिवर्तन गरेको उहाँको भनाई थियो । ‘आफ्नै घरबाट कोही मान्छेलाई अपहरण गरेर हत्या गरिँदासमेत सुरक्षा निकायमा गएर उजुरी दिन नसक्ने र चन्दाको धम्की दिइयो भने आफैँ पोको पारेर चन्दा लगेर बुझाइदिने र कसैले मागेन भने म त ब्ल्याक लिस्टमा पो परेछु क्यार भन्ने एक खालको एउटा डरलाग्दो अवस्था थियो,’ ज्ञवालीले भन्नुभयो ।

ओली सरकारले त्यस विरूद्ध लगातार प्रतिवाद गरेर मुलुकलाई शान्ति प्रक्रियामा ल्याएको उहाँले बताउनु भयो । ‘त्यो हिंसाको विरूद्धमा लगातार प्रतिवाद गरेर मुलुकलाई शान्ति प्रकृयामा ल्याउने एउटा त्यो धार त्यो लेगेसी प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हामीले स्थापित गर्यौं,’ ज्ञवालीले भन्नुभयो ।