जनता टाइम्स

१६ असार २०७८, बुधबार १०:२१

रिक्त चार सचिवमा बढुवाका लागि ७ सहसचिवको नाम सिफारिस, कस्को कति संभावना ?


काठमाडौं, असार १६ । नेपाल सरकारका विभिन्न निकायमा रिक्त ४ सचिवको पदपुर्तिका लागि ७ जना सहसचिवको नाम सिफारिस भएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको संयोजकत्वमा रहेको बढुवा सिफारिस समितिको बैठकले सात जना सहसचिवको नाम सिफारिस गरेको हो ।

प्रशासनतर्फ १ जना सचिव बढुवाका लागि जेष्ठताका आधारमा एक जनाको नाम मात्र सिफारिस भएको छ। बनसेवातर्फ एकजना सचिव बढुवाका लागि ३ जना सहसचिव र इञ्जिनियरिङ सेवातर्फ १ जना सचिव बढुवाका लागि ३ जना सिफारिस भएका छन । बढुवा सिफारिस समितिको बैठकले बरिष्ठताका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा.दामोदर रेग्मीको नाम सिफारिस गरेको हो ।

एक जना सचिव पदमा बढुवा गर्दा ३ जना सहसचिवको नाम सिफारिस हुने भए पनि जेष्ठताका आधारमा रेग्मीको नाम मात्र सिफारिस गरिएको बढुवा समितिले जनाएको छ । यस्तै कृषि तथा वन सेवातर्फ सहसचिव डा. कृष्णप्रसाद आचार्य, निरु दाहाल पाण्डे र दीपक खरालको नाम सिफारिस भएको छ । आचार्य र पाण्डे यसअघिको सचिव बढुवामा पनि सिफारिस हुनुभएको थियो ।

यसैगरी इन्जिनियरिङ सेवातर्फ सहसचिव प्रमिला बज्राचार्य, सुशिलचन्द तिवारी र गोविन्द सिग्देलको नाम सिफारिस भएको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ डा.रेग्मीलाई सचिवमा बढुवा गर्नेछ भने प्राविधिकतर्फ ६ जनामध्येबाट वरिष्ठता तथा कार्यसम्पादनका आधारमा २ जना सचिवमा सिफारिस हुनेछन् ।

लामो समयदेखि रोकिएको सचिव बढुवा सिफारिस लोकसेवा आयोगमा पदाधिकारी नियुक्ति भएसँगै अघि बढेको हो । हाल प्रशासन सेवाका ५, इन्जिनियरिङ सेवाका २ र वन तथा कृषि सेवाका १ गरी आठ सचिव पद रिक्त छन् । राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, वन तथा वातावरण मन्त्रालयमा सचिव पद रिक्त छ भने गण्डकी र कर्णाली प्रदेशमा प्रमुख सचिव पद रिक्त छन् ।