जनता टाइम्स

१६ असार २०७८, बुधबार १५:५०

शम्भु थापालाई सुशिल पन्तको कडा काउन्टर


काठमाडौं, असार १६ । संबैधानिक इजलाशमा राष्ट्रपति र प्रधानमन्त्रीबिरुद्ध तथानाम गाली गलौजमा उत्रनुभएका बरिष्ठ अधिबक्ता शम्भु थापालाई अर्का बरिष्ठ अधिबक्ताले जस्ताको तस्तै जवाफ दिनुभएको छ । ।

वरिष्ठ अधिवक्ता सुशील पन्तले आफैंले मुद्दा दिएको प्रधानमन्त्री र राष्ट्रपतिलाई ‘हु आर यू ?’ भन्ने थापाको भनाईको कडा काउन्टर गर्दै आपत्ति जनाउनु भयो । रिट निवेदक पक्षबाट बहस गर्दै यसअघि वरिष्ठ अधिवक्ता शम्भु थापाले आपत्तिजनक आक्षेपसहित राष्ट्रपति र प्रधानमन्त्रीलाई ‘हु आर यू’ भन्नुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट प्रतिनिधिसभा विघटनको मुद्दामा आज बहस गर्दै वरिष्ठ अधिवक्ता पन्तले आफ्नै ‘क्लाइन्ट’ ले विपक्षी बनाएकालाई कानून व्यवसायीले नचिन्नु अत्यन्तै गलत रहेको तथ्यसमेत औल्याउनु भयो । ‘अब यहाँ त हु आर यू रे । तपाईंको क्लाइन्टले विपक्षी बनाएपछि थाहा हुँदैन को हो भनेर ? विपक्षी चाहिँ प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई बनाउने अनि यहाँ आएर हु आर यू भन्ने ?’, थापालाई जवाफ दिँदै बहशका क्रममा पन्तले भन्नुभयो ।

प्रधानन्यायाधीश चालेन्द्र शमशेर जवरा नेतृत्वको पाँच सदस्यीय संबैधानिक इजलाशमा बहशका क्रममा बरिष्ठ अधिबक्ता पन्तले संविधानको धारा ७६ को ५ ले राष्ट्रपतिलाई विवेक प्रयोग गर्ने अधिकार दिएकोले राष्ट्रपतिको विवेकविरुद्ध मुद्दा लाग्न नहुने संबैधानिक आधार र तथ्यसमेत राख्नुभयो ।

‘राष्ट्रपतिविरुद्ध मुद्दा लाग्छ कि लाग्दैन ? संविधानले राष्ट्रपतिले गरेको काममा मुद्दा लाग्दैन भनेको छ । मुद्दा लाग्छ भनेपनि राष्ट्रपतिको धारणा एकपटक नसुनी मुद्दा हाल्ने ? के राष्ट्रपतिलाई प्राकृतिक न्यायको सिद्धान्त लागू हुँदैन ?’, बरिष्ठ अधिबक्ता पन्तले भन्नुभयो । उहाँले संबैधानिक आधारमा जाँदा रिट निवेदकको दावी खारेज हुनुपर्ने थुप्रै आधार रहेको भन्दै खारेजीको जिकिरसमेत गर्नुभयो । उहाँले संबैधानिक इजलाशमा रिट निवेकदको तर्फबाट बहशमा आउनु भएको कानून ब्यवसायीले संबैधानिक आधार दिन नसकेपछि आफ्नो हैसियत र मर्यादा भुलेर बहश गरेको तथ्यसमेत औल्याउनु भयो ।