जनता टाइम्स

१७ असार २०७८, बिहीबार १७:१५

माधव र भीम रावलसँग जंगिए एमाले कार्यदलका नेता


काठमाडौं, असार १७ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग कार्यदलमा रहेका आफ्नै समुहका नेता जंगिएका छन । आज बसेको नेपाल समुहको स्थायी कमिटी सदस्यहरुको बैठकमा नेता नेपालसहित भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको बिश्वास गरेर बिपक्षी गठबन्धनका नेता शेरबहादुर देउवा र पुष्पकमल दाहाल, प्रचण्डलाई धोका दिन नहुने प्रस्ताव राखेपछि कार्यदलमा रहेका नेताहरु जंगिनु भएको हो ।

यो एमालेको बैठक हो, हाम्रो लडाईंको सार एमालेलाई बलियो बनाउने हो, यसबिपरित आइन्दा बिपक्षी गठबन्धनलाई बलियो बनाउने कुरा नगर्नाेस

बैठकमा सहभागी एक नेताले जनताटाइम्सलाई दिएको जानकारीअनुसार बिपक्षी गठबन्धनलाई धोका दिएर पार्टी एकताको आधार तयार पार्दै शुक्रवार बोलाइएको तात्कालिन एमालेको पदाधिकारीसहितको बैठकमा जान नहुने प्रस्ताव एमाले उपाध्यक्ष भीम रावलले राख्नुभएको थियो । सो प्रस्तावमा नेपालले हो त नि भनेपछि सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, भीम आचार्य, योगेश भट्टराईसहितका नेताहरु जंगिनु भएको हो । ‘एमाले सकाएर देउवा र प्रचण्डको सेवा गर्ने ? यो किमार्थ हुन सक्दैन, तपाईहरु आफ्नो कुरा त्यही रोक्नोस,’ एमाले बिवाद समाधानमा लागेका कार्यदलका सदस्यहरुको सामुहिक धारणा उधृत गर्दै ती नेताले जनताटाइम्ससँग भने ।

उनका अनुसार नेताहरुले पहिलो कुरा नै एमालेको सुदृढ एकता र बलियो पार्टी निर्माण रहेको भन्दै एमालेको बैठकमा देउवा र प्रचण्डको कुरा अव आइन्दा नगर्न चेतावनीसमेत दिएका छन । ‘यो एमालेको बैठक हो, हाम्रो लडाईंको सार एमालेलाई बलियो बनाउने हो, यसबिपरित आइन्दा बिपक्षी गठबन्धनलाई बलियो बनाउने कुरा नगर्नाेस,’ माधव र रावललाई नेताहरुको सुझाव थियो । आजको बैठकमा कार्यदलमा रहेका नेताहरुले मिलन बिन्दु फेला परिसकेको भन्दै पार्टी बिभाजनको कुनै आधार नभएको तथ्य सुनाउनु भएको थियो ।

‘अव पनि बुढानिलकण्ठतिरै धाउनु पर्ने कुनै कारण छैन, पार्टीभित्रको बिवाद समाधानतिर गइसकेको छ,’ बैठकमा कार्यदलका नेताहरुको भनाई थियो । एमालेले माधव समुहकै मागअनुसार माओवादीसँग एकताअघि कायम रहेको २०७५ जठ २ गतेको संरचना ब्यूँताउने निर्णय गरी महाधिवेशन आयोजक कमिटी बिघटन गरिसकेको छ । अध्यक्ष ओली हदैसम्म लचक भई यो निर्णय लिएसँगै माधव आफै दवावमा पर्नुभएको हो ।