जनता टाइम्स

१८ असार २०७८, शुक्रबार ०७:४३

लगातार परेको झरीका कारण देशका धेरै ठाउँमा बाढी पहिरो : मनसुन भित्रिएको २१ दिनमा ३३ जनाको ज्यान गयो


काठमाडौं, १८ असार । नेपालका विभिन्न स्थानमा परेका मध्यम तथा भारी वर्षाका कारण नदीहरूमा पानीका बहाब बढेका छन् ।मकवानपुरको भोर्लेनी र आसपासमा वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टा भारी वर्षामापन भइरहेको थियो । खोखझोर खोला, बागमती, मरीन लगायत नदीहरूमा जलसतह बढ्दो क्रममा रहेको रहेकाले उक्त जलाधारका नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा सतर्ककता अपनाउन बाढी पूर्वाअनुमान महाशाखाले जनाएको छ ।

बिहान एक बजेबाट मकवानपुरको पूर्वी राप्ती नदी रजैया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पुगेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र र चितवनको सौराहा आसपास हुनेहरूलाई पनि सतर्कता अपनाउन अनुरोध छ ।अन्य साना तथा ठूला नदीहरूमा पनि बाढीको जोखिम कायमै रहेको छ ।

यसैवीच लगातार परेको झरीका कारण देशका धेरै ठाउँमा बाढी पहिरो आएको छ भने केही क्षेत्र डुबानमा परेको छ । मकवानपुरको पूर्वी राप्ती नदीमा पानीको सतह बढ्दै गएकाले चितवनको सौराहा आसपास र नदी क्षेत्रका स्थानीय बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ ।

दुई दिनदेखि वाग्मती, गण्डकी, लुम्बिनी, प्रदेश–१ र प्रदेश–२ मा झरी परिरहेको छ ।गएराति सबैभन्दा धेरै चितवन, मकवानपुर, विराटनगरलगायत क्षेत्रमा पानी परेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार भोलिसम्म नै मौसम यस्तै रहने अनुमान छ ।

नेपालमा मनसुन सुरु भएयता ३३ जनाको ज्यान गएको छ । नेपालमा गएको जेठ २८ गते मनसुन भित्रिएको थियो । गृह मन्त्रालयले हिजो बेलुका अद्यावधिक गरेको तथ्याङ्कअनुसार २१ दिनको अवधिमा बाढी पहिरोमा परेर ३३ जनाको ज्यान गएको हो ।

सबैभन्दा धेरै सिन्धुपाल्चोकमा पाँच जनाको ज्यान गएको छ भने डोटीमा चार, रोल्पामा तीन तथा प्युठान, रौतहट, तनहुँ र चितवनमा दुईदुई जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । यसैगरी, बाजुरा, गोरखा, पाल्पा, अर्घाखाँची, कास्की, काभ्रे, कालीकोट, सप्तरी, बझाङ, पाँचथर, रोल्पा, दाङ र सिन्धुलीमा एकरएक जनाको ज्यान गएको छ ।यस्तै यो अवधिमा ३० जना बेपत्ता भएका छन् भने ३० जना नै घाइते भएका छन् ।

यस्तै, यो अवधिमा बाढी, पहिरो तथा डुबान र कटानबाट १ सय १२ घरमा पूर्णरूपमा क्षति पुगेको छ भने ४ सय ७५ घरमा आंशिक क्षति पुगेको छ । यस्तै, आज पनि देशका धेरै ठाउँमा लगातार झरी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ ।