जनता टाइम्स

१८ असार २०७८, शुक्रबार ०८:१५

एमालेमा तोडियो संवादहीनता, ओली-नेपालबीच भयो टेलिफोन बार्ता


काठमाडौं, असार १८। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच टेलिफोन संवाद भएको छ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोनमा कुराकानी भएको छ।

केन्द्रीय कमिटी बैठक बस्ने पूर्वसन्ध्यामा अध्यक्ष ओली र नेता नेपालबीच कुराकानी भएको हो। बिहीबार बेलुकी ओली र नेपालबीच कुराकानी भएको उहाँहरू निकट नेताहरूले जनाएका छन् । दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेर ओलीले आज बिहान ११ बजेका लागि केन्द्रीय कमिटी बैठक राख्नुभएको छ ।

तर उक्त बैठकमा सहभागी नहुने निर्णय नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको छ। बैठकमा सहभागिता र पार्टी एकतालगायत विषयमा अध्यक्ष ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको र आज पनि कुराकानीलाई निरन्तरता दिने तयारी रहेको नेताहरूले जानकारी दिएका छन्। एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोनमा कुराकानी भएको बताउनुभयो ।

‘अध्यक्ष ओलीले पार्टी एकताका लागि प्रयास जारी राख्नुभएको हो,’ उहाँले भन्नुभयो । तामाङका अनुसार आज बिहान ११ बजे बालुवाटारमा केन्द्रीय कमिटी बैठक बस्छ। पार्टी कार्यालय थापाथलीमा ठाउँ अभाव हुने हुँदा बालुवाटारको खुला चौरमा टेन्टमा बैठक राखिएको उहाँले बताउनुभयो । नेपाल पक्षका नेता भीम आचार्यले अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोनमा कुरा भएको बताउनुभयो । कुराकानीलाई निरन्तरता दिने पनि उहाँको भनाइ छ।

आज अध्यक्ष ओली र नेता नेपालबीच भेटघाट हुन सक्ने नेताहरूले बताएका छन्। सम्भवत आज फेरि टेलिफोनमा कुराकानी र भेट नै गर्ने तयारी रहेको नेताहरू बताउँछन्।अनौपचारिक स्रोतका अनुसार नेपाल समूह लचिलो भए केन्द्रीय समिति बैठक स्थगित गर्ने तयारी छ ।