जनता टाइम्स

१८ असार २०७८, शुक्रबार १३:२१

हजारौं प्रयासका बाबजुद पार्टी एक हुन नदिने खेल भइरहेको छ : अध्यक्ष ओली


काठमाडौं, असार १८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हजारौं प्रयासका बाबजुद पार्टीलाई एक हुन नदिने खेल भइरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अनुशासन तोड्नुलाई बहादुरी ठान्ने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो , ‘वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार, आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपतिकहाँ एमालेकै नामका व्यक्तिहरू गएको लाजमर्दो अवस्था छ । हजार प्रयासका बाबजुद पार्टीलाई एक हुन दिइएको छैन, हामीले कुरा बुझ्नुपर्छ ।’

ओलीले सर्वोच्च अदालतका पछिल्ला अदेशप्रति समेत असन्तुष्टि व्यक्त गर्दै यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा चुनावी आचारसंहिता लागू भइसकेपछि पनि मन्त्रिपरिषद् गठन भएको र त्यसविरुद्ध परेको रिट अदालतले खारेज गरेको नजिर रहेको समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘हिजो आचारसंहिता लागू भइसकेपछि पनि मन्त्रिपरिषद् पुनर्गठन भएको नजिर छ । तर, अहिले अग्राधिकार दिएर मन्त्रीहरू खाली गरियो । दलका सदस्यलाई अनुशासनको कारवाही गर्न पाइँदैन भनियो । के हुँदैछ बुझ्नुपर्छ ।’