जनता टाइम्स

१८ असार २०७८, शुक्रबार १५:३५

ओलीले दिए बामदेवलाई बिशेष जिम्मेवारी


काठमाडौं, असार १८ । एमाले उपाध्यक्ष बामदेव गौतमले पार्टी काममा फर्किएलगत्तै बिशेष जिम्मेवारी पाउनु भएको छ । एकतापूर्वको पदाधिकारीसहित एमाले केन्द्रीय कमिटी ब्यूँतिएपछि आज बसेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुनुभएका उपाध्यक्ष गौतमलाई अध्यक्ष ओलीले पार्टी एकताको काम सम्हाल्न भन्दै बिशेष जिम्मेवारी दिनुभएको हो ।

केन्द्रीय कमिटीका एक सदस्यले जनताटाइम्सलाई दिएको जानकारीअनुसार बैठकमा अध्यक्ष ओलीले पार्टी एकतालाई निश्कर्षमा पुर्याउने जिम्मेवारी सम्हाल्नोस भन्दै बिशेष काम दिनुभएको हो । उपाध्यक्ष गौतम नेकपा बिभाजनपछि कुनै पनि समुहमा नलागी एकता संयोजन समितिको नाममा सक्रिय हुनुभएको थियो । लामो समयपछि आज पार्टी फर्कनुभएका गौतमले आफूले अध्यक्ष ओलीलाई नै साथ दिने बताउनुका साथै माधव नेपाल समुहलाई पनि पार्टी काममा फर्काउनु पर्ने बताउनु भएपछि अध्यक्ष ओलीले माधव समुहलाई पार्टीको हितमा सहमति गरी फर्काउने जिम्मा दिनुभएको ती नेताले जनताटाइम्सलाई बताए ।

आजको बैठकमा प्रधानमन्त्री ओलीतिर हेर्दै गौतमले भन्नुभयो ‘अब म तपाईंसँग आएँ, यता–उता जान्न ।’ उहाँको यो घोषणा र पार्टी एकता अभियान नै चलाएर बस्नुभएका कारण एमालेका दुई पक्षलाई मिलाउने बिशेष जिम्मेवारी केन्द्रीय कमिटीले दिएको छ । आफ्नो मन्तव्यका क्रममा कार्यदलको तहमा हैन, अध्यक्षले आफै एकताको पहल लिनुहोस भन्नुभएका गौतमले एकताका लागि म पनि सहयोग गर्छु भन्ने प्रतिवद्धता पनि जनाउनु भएको थियो ।

गौतमको सो भनाईको स्वागत गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘एकताको पहल तपाईंले लिनुहोस ।’ ओलीको सो प्रस्तावलाई गौतमले हार्दिकताका साथ स्वीकार गर्नुभएको थियो । प्रधानमन्त्रीको सो प्रस्तावलगत्तै गौतमले हौसिएर लाल सलाम गर्दै जिम्मेवारी स्विकार्नु भएको केन्द्रीय कमिटीका अर्का सदस्यले जानकारी दिए । आजको बैठकमा गौतमले पार्टी मिलाउनेदेखि कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्ताक्षर बिक्रि गरेको बिषयमा तिखो टिप्पणी गर्नुभएको थियो ।