काठमाडौं, असार १९ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गराउनका लागि कुरा गर्न भनेर माधवकुमार नेपालको निवासमा पुगेका एमाले नेताहरूले एक घण्टा कुर्दा समेत माधवलाई भेट्न नपाएको तथ्य बाहिर आएको छ ।
एमाले अध्यक्षसमेत रहनुभएका ओलीसँगको टेलिफोन वार्तामा माधव नेपालले आफूले नभेट्ने र कांग्रेस सभापति शेरबहादुर देउवाको साथ कसैगरी पनि नछाड्ने सन्देश दिएपछि नेपाललाई फकाउन कोटेश्वरस्थित निवासमा पुग्नुभएका नेता सुरेन्द्र पाण्डे लगायतले एक घण्टा कुरोर पनि भेट्न नपाउनुभएको हो । स्रोतका अनुसार प्रचण्ड र देउवाको फोनपछि नेता नेपाल आफ्नै समुहका नेताहरुलाई नभेटने निर्णयसहित सभामुख निवासतिर लाग्नुभएको थियो ।
केन्द्रीय कमिटीको बैठक बस्नुअघि भएको नेपाल–ओली संवाद फलदायी नभएपछि शुक्रवार पाण्डेलगायतका नेता नेपाललाई भेट्न उहाँको निवास कोटेश्वर पुग्नुभएको थियो । तर उहाँहरू त्यहाँ पुग्नुअगावै नेपाल सुरक्षा गार्डसमेत छाडेर सभामुख अग्नि सापकोटाको सरकारी निवास बालुवाटर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न निस्किनुभएको थियो ।
नेपाल घर नआएपछि पाण्डे लगायतका नेताहरू ओलीलाई केन्द्रीय कमिटी बैठक रोक्न अनुरोध गर्न बालुवाटार पुग्नुभएको थियो । बालुवाटारमा उहाँहरूले ओली, ईश्वर पोखरेल र सुवास नेम्वाङलाई भेटेरे बैठक रोक्न माग गर्नुभएको थियो । ओलीले भने पाण्डेलगायतका नेताहरूलाई केन्द्रीय कमिटीको बैठकचाहिँं नरोकिने भन्दै सहमतिका लागि प्रयास जारी राख्न बताउनुभएको थियो ।
ओलीको प्रस्ताव नेपालले अस्वीकार गरेसँगै मिल्नै लागेको एमालेको विवाद झन जटिल मोडतर्फ धकेलिएको छ । अध्यक्ष ओलीले नेता नेपाललाई शुक्रबार बिहान टेलिफोन गरी भेटघाट गरी सहमतिमा अघि बढ्न आग्रह गर्नुभएको थियो । ओलीको आग्रहलाई नेपालले अस्वीकार गरेपछि दोस्रो पुस्ताका नेताहरूले थालेको एकता पहल फेरि बिथोलिएको छ । अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमै माधवले आफूसँग भेटन नचाहेको जानकारी दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्