जनता टाइम्स

२० असार २०७८, आईतवार ०७:४६

यही अवस्थामा ओलीसित मिल्न जानु भनेको आफ्नै मृत्युपत्रमा हस्ताक्षर गर्नु सरह हो : माधव नेपाल


काठमाडौं, असार २० । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिल्नु भनेको मृत्यूपत्रमा हस्ताक्षर गर्नु सरह रहेको बताउनु भएको छ । आफू निकट निवर्तमान सांसदसँगको छलफलमा नेपालले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।
उहाँले अध्यक्ष ओलीसँग एकता सम्भव नरहेको निश्कर्ष पनि सुनाउनु भएको छ । लामो समयदेखि फरक पार्टीको अभ्याशमा रहनुभएका बरिष्ठ नेता नेपालले शनिवार बालकुमारीमा आफू निकट निवर्तमान सांसदहरुसँगको छलफल गर्नुभएको थियो ।

‘यही अवस्थामा ओलीसँग कुनै हालतमा एकता सम्भव छैन, उनीसँग एकता गर्नु भनेको मृत्यू पत्रमा हस्ताक्षर गर्नु सरह हो,’ नेपालको भनाई उधृत गर्दै सहभागी एक नेताले जनताटाइम्ससँग भने, ‘ओलीजीले हामीलाई झुक्याइरहनु भएको छ, तैपनि हाम्रा साथीहरू उहाँ सहमतिमा आउनुहुन्छ कि भनेर पछि लाग्नुभएको छ ।’

नेता नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई बुझाएको हस्ताक्षर फिर्ता लिन पनि असंभव रहेको निर्णय सुनाउनु भयो । ‘हस्ताक्षर फिर्ता लिने नलिने भन्ने कुरा पार्टीको एकतासँग सम्बन्धित कुरा हैन, यही अवस्थामा ओलीसित मिल्न जानु भनेको आफ्नै मृत्युपत्रमा हस्ताक्षर गर्नु हो,’ नेपालको भनाई थियो ।