जनता टाइम्स

२० असार २०७८, आईतवार १९:१५

एमाले बनेपछि प्रचण्डले निकालेका पाँच उपप्रमुखलाई अदालतले गर्यो पुनर्बहाली


काठमाडौं, असार २०

सर्वोच्च अदालतले अन्तरिम आदेशबाट रौतहटको विभिन्न स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्वहाली गरेको छ । माओवादीको कारवाहीका आधारमा निर्वाचन आयोगबाट पदमुक्त भएका ५ जनप्रतिनिधिलाई न्यायाधीश कुमार चुँडालको एकल इजलासले फतुवा विजयपुर नगरपालिकाकी उपमेयर कान्तिदेवी महतो, मौलापुर नगरपालिका उपमेयर गौरीशंकर जयसवाल र देवाही गोनाही नगरपालिकाका उपमेयर परनीयादेवी पटेललाई सोही पदमा यथावत काम गर्न दिन अन्तरिम आदेश जारी गरेको हो ।

त्यस्तै यमुनामाइ गाउँपालिकाकी उपाध्यक्ष गितादेवी साह र माधवनारायणपुर नगरपालिकाकी उपमेयर सिम साहलाई पनि निर्वाचन आयोगले पदमुक्त गरेकोमा अदालतले पुनर्वहाली गरेको छ । माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरु एमालेमा प्रवेश गरेको भन्दै सो पार्टीको लिखित पत्रका आधारमा निर्वाचन आयोगले रौतहटका दुई स्थानीय तहका प्रमुख र पाँचजना उपप्रमुखलाई पदमुक्त गरेको थियो ।

पदमुक्त भएका मौलापुरकी मेयर रिनाकुमारी साह र कटहरीयाका मेयर सियाराम कुशवाह यसअघि नै पुनर्वहाली भइसकेका छन् । यी पाँच जनप्रतिनिधि पनि पुनर्वहालीसँगै पदभार ग्रहण गरेका छन् । माओवादीले यसअघि विभिन्न जिल्लाका १४ जनप्रतिनिधिलाई कारवाही गरी पदमुक्त गराएका थियो । उनीहरु सबै अदालतबाट पुनर्वहाली भएका छन् ।