जनता टाइम्स

२१ असार २०७८, सोमबार ०९:१४

मध्यरातीसम्म बालुवाटरमा भीम रावल, अध्यक्ष ओलीसँग गरे यस्तो बाचा


काठमाडौं, असार २१ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ । आइतवार राती अध्यक्ष ओली र उपाध्यक्ष रावलबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

एमाले एकताको प्रयास स्वरुप उहाँहरुबीच भेटवार्ता भएको बालुवाटार स्रोतले जनाएको छ । बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसँग भेट्न रुची नदेखाएको तथ्य सार्वजनिक भएसँगै माधव समुहका नेता रावलबीचको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ । अध्यक्ष ओलीले एमाले एकताका लागि अनेक प्रयास गरिरहनुभएको छ । सोही पहल स्वरुप आज रावललाई बोलाएर वार्ता गर्नुभएको हो । पार्टी एकता कायम राख्न हदैसम्मको लचिलो हुनुभएका अध्यक्ष ओलीले एकताकोसमग्र पाटोको बिषयमा रावलसँग छलफल गर्नुभएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन माधवकुमार नेपालसहित सो गुटका २३ सांसद्लाई प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको थियो । प्रधानमन्त्री ओलीले एमाले केन्द्रीय कमिटी बैठकमार्फत सांसद्हरूलाई सोमबार साँझसम्मको अल्टिमेटम दिनुभएको हो । मुद्दाको फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नगर्नेहरु एमालेका नेता कार्यकर्ता हुनै नसक्ने निर्णय पनि अध्यक्ष ओलीले सुनाइसक्नु भएको छ ।

माधव समुहकै माग अनुसार १० औं महाधिवेशन आयोजक कमिटी भंग गरेर एमालेले साविककै केन्द्रीय कमिटी बैठक बोलाएको थियो । असार १८ र १९ गते एमालेको १३ औं केन्द्रीय कमिटी बैठक बसेको थियो । तर बैठकमा माधव गुट सहभागी भएन । बैठकमा सहभागी नभएपछि मनाउन कोटेश्वर पुगेका कार्यदलका नेताहरुलाई माधवले नमिठो जवाफ दिएपछि कार्यदलकै सदस्यहरुको दवावमा रावल बालुवाटार जानुभएको हो । भेटमा उपाध्यक्ष रावलले दुवै नेता लचिलो बन्नुपर्ने भन्दै मावधलाई मनाउन र बिपक्षी गठबन्धनको मोह त्याग्न आफूले पहल गर्ने बाचा गर्नुभएको छ ।