काठमाडौं, असार २१ । सत्तारूढ नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले जारी गर्ने संयुक्त वक्तव्यको मस्यौदा तयार भएको छ। वरिष्ठ नेता नेपालले यसअघि बनेको कार्यदल ब्युँताउनुपर्ने र कार्यदलबाट आएको धारणालाई स्वीकार गर्ने बताएपछि सोमबार साँझ अध्यक्ष ओलीले कार्यदल ब्युँताउनु भएको थियो ।
त्यसलगत्तै कार्यदलले मस्यौदा तयार गरी दुवै नेताहरूलाई इमेलमा पठाएको हो। सोमबार साँझ सिंहदरबारमा बसेको कार्यदलको बैठकले पार्टीको विवाद सकिएको र पार्टी एकढिक्का भएको सन्देश दिन दुई नेताको संयुक्त वक्तव्य आउनुपर्ने अपरिहार्यतालाई महसुस गर्दै त्यसको मस्यौदा दुवै नेतालाई इमेल गरिएको हो। सोमबार कार्यदल ब्युतिएसँग एमालेको विवाद समाधानोन्मुख भएको छ।
यसअघि अध्यक्ष ओली पक्षबाट पाँच र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट पाँच गरी १० सदस्यीय कार्यदल बनाइए पनि दुईपटकभन्दा बढी बैठक नबसी निष्क्रिय भएको थियो। रामबहादुर थापाले राष्ट्रिय सभाको निर्वाचनमा पराजय भोगेपछि कार्यदल निष्क्रिय बनेको थियो । जेठ ७ मा बस्ने भनिएको कार्यदल बैठक त्यसपछि बस्न सकेको थिएन। नेपाल पक्षका २३ सांसदले विपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि कार्यदल कुनै पनि प्रकारको औपचारिक संवाद भएको थिएन। त्यसअघि कार्यदलको दुईपटकसम्म बैठक बसेको थियो। तर त्यो बैठकमा केही विषयमा पनि सहमति जुट्न सकेको थिएन।
कार्यदल ब्युँतिएपछि सोमबार साँझ सिंहदरबारमा बसेको बैठकले यसअघि भएका अनौपचारिक छलफलमा उठेका विषयलाई आपसमा बुझ्ने र लिपिबद्ध गर्ने निर्णय गरेको छ। ‘अनौपचारिक संवादका क्रममा जे–जति प्रगति भएको छ, त्यसलाई लिपिबद्ध गर्ने र ओली–नेपाल दुवै नेतालाई त्यसबारे जानकारी दिएर अघि बढ्ने सहमति भएको छ,’ कार्यदलमा सहभागी पार्टीका सचिव गोकर्ण विष्टले भन्नुभयो । बिष्टका अनुसार अहिलेसम्म सबै विषय समेटिएकाले पार्टीको विवाद समाधानोन्मुख छ।
आइतबार बिहान ओली पक्षका नेताहरूले नेपाललाई भेटेर पार्टीको विवाद मिलाउन र त्यसको अग्रसरता लिन आग्रह गर्नुभएको थियो । नेताहरूले दुवै नेतालाई भेटेर संयुक्त वक्तव्य दिनसमेत आग्रह गर्नुभएको थियो । जवाफमा नेपालले ओलीसँग तत्कालै भेटघाट गर्न अरूचि देखाउनु भएकोथियो भने विवाद मिलाउने भए पुरानो कार्यदल ब्यूँताउनु काम थाल्न आग्रह गर्नुभएको थियो । त्यसपछि आइतबार साँझ ओलीले भीम रावललाई बोलाएर छलफल गरी कार्यदल ब्यूताउनु भएको हो । छलफलमा ओलीले रावलसँग हस्ताक्षर फिर्ताको विषय उठाउनु भएको र रावलले त्यो सम्भव नभएको तर पार्टीभित्रको विवाद मिले अदालतको आदेशलाई कार्यान्वयन गरेर जाने विषयमा आफूहरू सकारात्मक रहेको बताउनु भएको थियो ।
आइतबार साँझ ओलीसँग भेटघाट भएको त्यहाँ भएको विषयमा थप छलफल गर्न सोमबार बिहान रावल नेपाल निवास कोटेश्वर पुग्नुभएको थियो । सोमबारको कार्यदलमा यसअघि अनौपचारिक छलफलमा भएका विषयहरूलाई औपचारिकता दिने सर्वोच्च अदालतमा परेको रिट निवेदन र हस्ताक्षरबारे दुवै पक्ष मौन बस्ने त्यहाँबाट आएको आदेशलाई पार्टी हितमा कार्यान्वयन गर्ने र सहमति जुटाएपछि ओली–नेपाल भेटघाट गरी संयुक्त वक्तव्य दिने विषयमा छलफल भएको थियो।
‘यसअघिकै छलफलमा ओली–नेपालको संयुक्त वक्तव्यको मस्यौदा तयार भएको छ। त्यसमा थप छलफल गर्नुपर्ने र सच्याउनुपर्ने भए मात्र भनेर हामीले कार्यदलका सबै सदस्य र दुई नेताहरूलाई मस्यौदा पठाएका छौं,’ कार्यदलका एक सदस्यले भने । कार्यदलमा संस्थापनबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहनुभएको छ भने नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र रघुजी पन्त हुनुहुन्छ । कार्यदलको बैठक आज १ बजे पुनः बस्ने भएको छ।













प्रतिक्रिया दिनुहोस्