जनता टाइम्स

२२ असार २०७८, मंगलवार १५:४८

चितवनबाटै हराइन अर्की युवती


चितवन, असार २२ । नवलपुर जिल्लाको गैडाकोट–४ की २१ वर्षिया विना सापकोटा पनि आठ दिनदेखि बेपत्ता रहेको तथ्य बाहिर आएको छ । असार १४ गते रातिदेखि बेपत्ता सापकोटाको खोजी जारी रहे पनि हालसम्म कुनै सुराक प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ ।

बिनाका बुबा जायेश्वर सापकोटाले पनि लगातार खाजी गर्दासमेत छोरी फेला पार्न नसकेको जानकारी दिनुभयो । ‘लगातार खोजेका छौँ, चितवन र गैंडाकोट प्रहरीलाई खबर गरेका छौँ । तर, अहिलेसम्म कुनै खोजखबर छैन,’ सापकोटाले भन्नुभयो ।

गैडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्ष अध्ययनरत बिना आधि घण्टामै फर्केर आउँछु भन्दै साथीसँग घरबाट निस्कनु भएको थियो । असार १४ गतेकै राति साथीको मोबाइलबाट अन्तिमपटक परिवारसँग सम्पर्क भएका थियो । उहाँले हराएको राति ३ पटक कुरा भएको र त्यसपछि छोरीको आवाज सुन्न नपाएको बताउनु भयो । यता अनुसन्धानका क्रममा प्रहरीले भरतपुरका एकजना युवालाई नियन्त्रणमा लिएको छ ।

गैडाकोटका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले सो घटनाको अनुसन्धानको लागि एक जनालाई सोही दिन पक्राउ गरेर चितवन प्रहरीलाई बुझाइएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा डीएसपी सूर्यबहादुर थापाका अनुसार पक्राउ परेका युवा बेपत्ता युवती बिनाका प्रेमी भएको खुलेको छ । यसअघि सोमवार चितवनमै सुजिता भण्डारीको शव फेला परेको थियो ।