काठमाडौं, असार २४ । सरकारले पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को सरुवाको गृहकार्य अघि बढाएको छ । प्रहरी प्रधान कार्यालयले सरुवाको सहमति दिएपछि गृह मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषदमा पठाएको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा सरुवा गर्न खोजिए पनि कसलाई कहाँ सरुवा गर्ने भन्ने विषयको टुंगो नलागी अर्काे बैठकका लागि राखिएको छ । प्रहरी प्रधान कार्यालय पाँचै जना एआइजीको सरुवाका लागि ठाउँ तोकेको गृह मन्त्रालयमा पठाएको थियो । गृहबाट प्रस्ताव मन्त्रिपरिषदमा पुगे पनि हालै बढुवा भएका एआइजी सहकुलबहादुर थापालाई कहाँ पदस्थापन गर्ने भन्ने विषयमा टुंगो लाग्न बाँकी रहेको एक मन्त्रीले जनताटाइम्सलाई बताए ।
थापालाई मानव स्रोत वा महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा पठाउने वा अन्त राख्ने भन्ने बिषयमा छलफल भइरहेको बताइन्छ । प्रहरी प्रधान कार्यालयले थापालाई कार्य विभाग सरुवा गर्ने प्रस्ताव पठाएको थियो । तर उहाँले अन्यत्र चाहना राख्नुभएको छ ।
बिहीबारकै मन्त्रिपरिषद बैठकले थापाको बढुवा सिफारिस सदर गरेको थियो । उहाँलाई आइतबार एआइजीको दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ । प्रधान कार्यालय स्रोतका अनुसार एआइजी निरजबहादुर शाहीको महानगरीय प्रहरी कार्यालय (मेट्रो), मेट्रोका एआइजी हरिबहादुर पाललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी)मा सरुवा गर्न खोजिएको छ । यस्तै एकेडेमीका प्रद्युम्न कार्कीलाई अपराध अनुसन्धान विभागमा सरुवा गर्न खोजिएको छ भने विश्वराज पोखरेलको प्रशासन विभागमा सरुवा प्रस्ताव पठाइएको छ ।













प्रतिक्रिया दिनुहोस्