जनता टाइम्स

२५ असार २०७८, शुक्रबार १३:५४

नायिका जेनी कुँवरको सुसाइड नोट : यस्तो छ आत्महत्याको कारण


काठमाडौं, असार २५ । नायिका तथा निर्माता जेनी कुँवरको मृत्यु अघि लेखेको (सुसाइड नोट) फेला परेको छ । कुँवरको आत्महत्याअघि लेखिएको नोट प्रहरीले फेला पारेको हो । उहाँको मृत्युबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरले जनाएको छ । बिहीबार राति ८.०० बजे काठमाडौंको थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा नायिका कुँवरले झुण्डिएको अबस्थामा मृत फेला पर्नु भएको थियो ।

नायिका कुँवरको शव फेला परेको ठाउँमा प्रहरीले पत्र (सुसाइड नोट) भेटेको प्रहरीले जनाएको छ । उक्त पत्रमा ‘मेरो मृत्युमा कसैको दोष छैन । प्रहरीले पनि सोही हिसाबले हेर्नुहोला,’ भनी लेखिएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त नयाँ वानेश्वरका अनुसार पत्रमा आत्महत्या गर्नुको कारण लामो समयदेखि बिरामी रहेको, मानसिक अवस्था ठीक नभएको र जति औषधिले पनि केही काम नगरेको उल्लेख छ । डेढ पृष्ठ लामो सुसाइड नोट कुँवर आफैंले लेख्नु भएको हो वा होइन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

यद्यपी प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको खुलेको र घटनाबारे मुचुल्का उठाएर नायिका कुँवरको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको प्रहरीले जानकारी दिएको छ । नायिका कुँवर पछिल्लो सयम साधुको अवतारमा पशुपति मन्दिर परिसरमा बिताउने गर्नुहुन्थ्यो । पशुपति परिसरमै प्रहरीसँग लफडा गरेर उहाँ युट्यूवमा भाइरल हुनुभएको थियो ।

‘जिन्दगानी’ नामका फिल्मबाट अभिनय यात्रा शुरु गर्नुभएको कुँवरले मैदान, जीवनदाता, कानुन, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊ लगायतका थुप्रै चलचित्रमा अभियान गरिसक्नुभएको थियो । प्रहरी वृत्त नयाँ वानेश्वरका अनुसार प्रहरीले श्रीमान मनबहादुरसँग घटनाबारे सोधपुछ गरेको थियो । उहाँका श्रीमानले प्रहरीलाई दिएको बयानअनुसार एक वर्षदेखि जेनी डिप्रेसनमा हुनुहुन्थ्यो र औषधि सेवन गर्दै आइरहुनभएको थियो ।