काठमाडौं, असार २५ । नौ बर्षदेखि महाधिवेशनबिनै चलिरहेको पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगलाई नै धम्की दिएको छ । माओवादीले संबिधान र राजनीतिक दल सम्बन्धी कानूनअनुसार आफ्नो दल खारेजीमा पर्ने तथ्य फेला पारेपछि कार्वाही नगर्न निर्वाचन आयोगलाई नै धम्की दिएको हो ।
माओवादीले पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्तिले निर्वाचन आयोगमा निवेदन दिएको र सो निवेदन पार्टीको तर्फबाट खारेज गरिएको भन्दै आफू कानूनअनुसार नचले पनि कुनै कार्वाहीको प्रक्रिया अघि नबढाउन बिज्ञप्ती निकालेरै माओवादीले आयोगलाई धम्की दिएको छ ।
माओवादीबाट एमालेतिर आउनु भएको पूर्वमाओवादी नेताहरुले माओवादी केन्द्रको दर्ता खारेजी माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि माओवादी केन्द्रले प्रतिक्रिया दिने क्रममा नै आयोगलाई धम्की दिएको हो ।
‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति व्यक्ति रहेको र दल दर्ता र दल खारेजीसम्बन्धी सामान्य कानूनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले यस्तो हरकत गर्नु हास्यास्पद देखिन्छ,’ माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बिज्ञप्तीमार्फत भन्नुभएको छ, ‘केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनशायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको देखिन्छ ।’
माओवादीले ९ बर्षसम्म महाधिवेशन नगरे पनि उजुरीकर्तामाथि नै गम्भीर आक्षेप लगाएको छ । उजुरीकर्ताले संविधान, कानून, विधि, विधानविपरीत दुष्प्रचार गरिएको भन्दै माओवादी केन्द्रले नेता कार्यकर्ता तथा शुभचिन्तकलाई भ्रममा नपर्न आग्रह गरेको छ ।
माओवादी केन्द्रले अनधिकृत तथा आयोगसँग बेसरोकार राख्ने निवदेन स्वीकार नगर्न पनि निर्वाचन अयोगलाई आग्रह गरेको छ । ‘हाम्रो पार्टी त्यस्तो कुनियतको दुष्प्रचारलाई खारेज गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस प्रकारका अनधिकृत तथा आयोगसँग बेसरोकार निवेदन दर्ता स्वीकृत गर्दा अनावश्यक भ्रम सिर्जना हुने भएकोले आइन्दा त्यसो नगरियोस् भन्ने आग्रह समेत गर्दछौं ।’ उजुरीकर्ता नेताहरुले आज आयोग पुगेर आफूहरुले प्रमाण पुर्याएर उजरी दर्ता गरेको भन्दै डर धम्कीबाट नडराई कानुनअनुसार माओवादीको दर्ता खारेज गर्न ध्यानाकर्षण गराउनु भएको छ । नेताहरु आयोग पुगेपछि माओवादीले बिज्ञप्ती जारी गरेर आयोगलाई धम्की दिएको हो ।













प्रतिक्रिया दिनुहोस्