काठमाडौं, असार २६ । सत्तारूढ दल नेकपा एमालेमा एकताको निम्ति दुई पक्षबीच सहमति भएको छ । एकताको लागि बनेको कार्यदलको शुक्रबार लामो समय बसेको बैठकमा दुई पक्षबीच सहमति भएको नेताहरूले प्रतिक्रिया दिएका थिए । सहमतिको अन्तिम दस्तावेजलाई अन्तिम रुप दिन भाषिक परिमार्जनका लागि कार्यदलको बैठक आज (शनिबार) पनि बस्दै छ ।
शुक्रबारको बैठकमा पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । ‘वैठक निकै लामो, सौहार्द र सघन भयो, झण्डै सात घण्टाको वैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्बन्धमा सहमतिमा पुगेका छौँ’, उहाँले भन्नुभयो । सहमतिको बुँदा थाहा पाउन १८ घण्टा पर्खिनसमेत उनले आग्रह गर्नुभएको थियो । त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता गोकर्ण विष्टले पनि लगभग सहमतिमा पुगेको प्रतिक्रिया दिनु भएको छ । एकाध विषयहरु आज टुंग्याउने उहाँको भनाइ थियो ।
नेता विष्टले भन्नुभयो, ‘एकाध विषयमा छलफल बाँकी छ, भोलि सम्पूर्ण हिसाबले निस्कर्षमा पुग्छौँ, समयको अभावले एकाध विषय बाँकी रहेको हो, अरु सबैमा सहमतिमा पुगेका हौँ, हामी सम्पूर्ण हिसाबले पार्टीलाई एकतावद्ध गर्छौँ ।’ पार्टीभित्र देखिएका विवाद समाधान गर्न पटक–पटक कार्यदलको बैठक बसिरहेको छ । पछिल्लो समय नेताहरूले सहमतिको खाका तयार भइसकेको र त्यसलाई अन्तिम रुप दिने काम भइरहेको बताउँदै आएका छन् । यसअघि पनि नेताहरूले पटक–पटक सहमतिको नजिक पुगेको बताउँदै आएका थिए ।













प्रतिक्रिया दिनुहोस्